Logo

थलिएको अर्थतन्त्र चिरफार गर्न एकैसाथ ५ डाक्टर सक्रिय, होला त सफल शल्यक्रिया ?

थलिएको अर्थतन्त्र चिरफार गर्न एकैसाथ ५ डाक्टर सक्रिय, होला त सफल शल्यक्रिया ?



काडमाण्डौं । लामो समयदेखि जकडिएर बसेको नेपालको अर्थतन्त्र सुधारका लागि अहिले अर्थ मन्त्रालयलमा डाक्टर (पीएचडी)हरुको टीम सक्रिय भएका छन । अर्थशास्त्रमै पीएचडी (डाक्टर) गरेका अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थसचिव देखि सल्लाहकारसम्म नै डाक्टर (पीएचडी)को टीम बनाएका छन् ।

laxmi

अर्थसचिवमा डा. कृष्णहरि पुष्कर कर्णले बिहीबार पदबहाली गरेसँगै अहिले अर्थमन्त्रालयको कोर टीममा डाक्टर उपाधि प्राप्त ५ जना रहेका छन् । पछिल्लो समय अर्थतन्त्र थप जकडिएको निष्कर्ष निकाल्दै अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. महतले यसअघि राजस्व र अर्थसचिव गरी डेढवर्ष अर्थमन्त्रालयको कार्यभार सम्हालिसकेका डा. पुष्करलाई पुनः अर्थसचिवमा ल्याएका छन् । हक्की स्वभावका अर्थसचिव डा. पुष्करको कमब्याकसँगै निजीक्षेत्रसँग सहकार्य गरी अर्थतन्त्र चलायमान बनाउनका लागि सहज वातावरण बन्ने अर्थ मन्त्रालय स्रोतको बुझाई रहेको छ ।

यसैगरी राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे छन् भने अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा पनि डा. विश्व पौडेल र डा. पोषराज पाण्डे रहेका छन् । सम्बभवत अर्थमन्त्रालयमा पहिलो पटक अर्थमन्त्री सचिवदेखि सल्लाहकारसम्म पीएचडी होल्डर रहेका छन् । तर पछिल्लो समय डा. विश्व पौडेल भने त्यति सक्रिय रहेका छैनन् । विश्वाव्यापी रुपमा आएको कोरोना र त्यसपछि आएको आर्थिक मन्दीका कारण अर्थतन्त्रका हरेक क्षेत्र जकडिएको छ भने अर्थतन्त्रको इन्जिनको रुपमा रहेको निजीक्षेत्रको मनोवल गिर्न पुगेको छ । अहिले मन्दीकै कारण दैनिक सयौं व्यवसायी कालोसूचीमा पर्ने क्रम बढेको छ भने व्यवसायीक वातावरण खलवलिएकै कारण कतिपय उद्योगी व्यवसायीले आत्महत्या समेत गरेका छन् ।

सामान्यतय हेरक वर्ष सरकारले उठाउने राजस्व बढ्ने गर्दछ । सोही अनुरुप सरकारले पनि बजेटमार्फत राजस्व उठौतीको लक्ष्य बढाएको हुन्छ । तर चालू आर्थिक वर्षमा ठिक त्यसको विपरित राजस्व संकलनमा गत आर्थिक वर्षको तुलनामा गिरावट आएको छ । लक्ष्यकै आधारमा हेर्दा प्नि २२ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । सरकारले चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा १ खर्ब ७३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, सो अबधिमा १ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

अहिले सरकारलाई अर्थतन्त्रको इन्जिनको रुपमा रहेको निजीक्षेत्रको मनोवल उकास्दै घट्दो राजस्वदरलाई बढाउँदै अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी छ । तर नयाँ सरकार गठनभएसँगै उक्त गतिविधि बढ्न सकेको छैन भने निजीक्षेत्र सरकारसँग थप रुष्ट बन्न पुगेका छन् । बजेट र मौद्रिक नीतिले निजी क्षेत्रको समस्या सम्बोधन नगरेको भन्दै निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिले सार्वजनिक रुपमा विरोध गर्दै आएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बाह्य क्षेत्र सन्तुलनमा रहनुका साथै विदेशी मुद्रा संचिती र तरलता समेत उच्च रहेपनि देशभित्र आर्थिक गतिविधि चलायमान नहुँदा त्यसले साना, मझौलादेखि ठूला उद्योगी व्यवसायीसमेत पलायन हुने अवस्था सिर्जना भएको छ । अस्थिर सरकार र उनीहरुले लिने अस्थिर नीतिकै कारण अहिले निजीक्षेत्रको मनोवन गिरेको र जसका कारण अर्थतन्त्र चलायमान हुन नसेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । ‘अहिले सरकारले आफुलाई मन लागेको समयमा आफुखुशी नीतिगत परिवर्तन गर्न थालेका छन्,’ एक व्यवसायीले भने, ‘त्यसले थप अन्यौलता सिर्जना गरेका कारण अहिले उद्योगीहरु सरकारको व्यवहार पर्ख र हेरको अवस्थामा रहेको छ ।’

बैंकको उच्च व्याज र देशमा औद्योगिक वातावरण नभएकै कारण उद्योगी व्यवसायीले थप कर्जा लिएर उद्योग व्यवसाय विस्तार गरेका छैनन् । अहिलेको अवस्थामा सरकारले उद्योगी व्यवसायीलाई कामगर्ने वातावरण सिर्जना गरी त्रासबाट मुक्त गराईदिएमात्रै पनि अर्थतन्त्र चलायमान हुने सम्बद्ध व्यवसवायीहरु बताउँछन् । सोही अनुरुप अर्थसचिव डा. पुष्करले आफ्नो पदबहालीको क्रममा अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिने उद्योगी व्यवसायीको मनोवल उच्च बनाउदै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी आफुमा आएको बताएका थिए । उनले नेपाल सरकार र अर्थमन्त्रीको निर्देशनमा सिंगो अर्थमन्त्रालयको टीम तत्काल अर्थतन्त्र सुधारको एक्सनमा उत्रने प्रतिवद्वता समेत जाहेर गरेका थिए । साथै उनले कार्यक्रममा बोल्दै भने, ‘देशमा भुक्तानी सन्तुलन, विदेशी मुद्रा संचिति र तरलताको अवस्था हेर्दा हामी एकदमै राम्रो अवस्थामा छौ । तर पनि हाम्रो अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । वित्त नीति र मौद्रिक नीतिबीचको तादम्यता नमिलाईकन देशको अर्थतन्त्र अघि बढाउन सकिँदैन । तसर्थ मेरो प्राथमिकता वित्त र मौद्रिक नीतिबीच तादम्यता मिलाएर उद्योगी व्यवसायीहरूलाई साथमा लिएर देशको अर्थतन्त्र चलायमान बनाउनेमा हुनेछ ।’

मन्त्रीदेखि सचिव र सल्लाहकारसम्म पीएडी होल्डर डाक्टरको टीमले अहिलेको अर्थमन्त्रमा सुधार ल्याउन ठूलै मेहनत गर्नुपर्ने सम्बद्ध अर्थविद्हरु विताउँछन् । ‘अहिले मन्त्री र कर्मचारीहरुमा काम गर्नेभन्दा पनि बोल्ने परिपाटी हावी देखिएको छ,’ ती अर्थविद्ले भने, ‘अहिले अर्थमन्त्रीदेखि सचिवसम्मको राम्रो टीम छ अब उनीहरुले काम गरेर देखाउने समय आईसकेको छ ।’ अर्थसचिवका रुपमा भर्खरै नियुक्त भएका डा. पुष्करले अघिपनि अर्थमन्त्रालयलको जिम्मेवारी सम्हालिसकेका कारण उनलाई अहिलेको समस्या समाधान गर्न एक्सन उत्रन सहज हुने ती अर्थविद्को तर्क थियो ।

राष्ट्र बैंकले गत वर्षका निजीक्षेत्रतर्फ १२ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएको थियो तर ३ प्रतिशतमा सिमित रहयो । चालू आर्थिक वर्षका लागि पनि ११.३ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको छ । तर दुई महिना वितिसक्दा कर्जा विस्तार नगन्य मात्रामा रहेको छ । बैंकका पैसा भएपनि उद्योगी व्यवसायीहरुले कर्जा माग गरेका छैनन् भने बैंकहरु पनि थप लगानी विस्तार गर्न डराएको अवस्था छ । ‘समान्यतय उद्योगी व्यवसायीहरुले चाडवर्पलाई लक्षित गरी साउन अन्तिमदेखि भदौ पहिनामा बढी एलसी खोल्ने गरेका थिए,’ एक बैंकरले भने, ‘तर चालू आर्थिक वर्षमा एलसी खोल्ने व्यवसायी नै भेटिन छाडेको छ ।’ साथै चालू आवमा चाडपर्वलाई लक्षित गरी एकदमै नगन्य मात्रामा मात्रै व्यवसायीहरुले सामान अर्डर गरेको ती सम्बद्ध बैंकहरु बताउँछन् ।

अहिले देशमा भन्सारदेखि हरेक क्षेत्रको राजस्व घटेको छ । व्यापार व्यवसायमा गिरावट आउँदा आयकरदेखि मूल्य अभिवृद्धि कर संकलनमा समेत समस्या देखिएको छ । तर, पछिल्लो समय औपचारिकभन्दा पनि अनैपाचारिक अर्थतन्त्र मौलाउन पुग्दा अर्थतन्त्रमा थप समस्या देखिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सरकारले केही समय अघि मदिरा, महंगा मोबाईलजस्ता वस्तु आयातमा रोक लगाएको थियो । सरकारले १ वर्षभन्दा बढी समय त्यस्ता सामान आयातमा रोक लगाउँदा नेपालमा भने कहिलै अभाव भएन । तसर्थ पछिल्लो समय नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रशय पाउँदा पादरर्शी तरिकाले उद्योग व्यवसाय गर्ने उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै अबमा दिनमा अर्थको टीमले त्यसतर्फ ध्यानदिनुपर्ने देखिन्छ । साथै अर्थ मन्त्रालयले अबका दिनमा आयात व्यापारलाई भन्दा पनि देशभित्रै रोजगारी सिर्जना हुनेगरी आन्तरिक रुपमा उद्योग व्यवसाय संचालनलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL