Logo

अञ्जनले प्रबलजंगलाई वरिष्ठको उम्मेदवारमा अघि सारेपछि कोषाध्यक्षमा जुटेन सहमति, ५ बजे चुनाव हुँदै

अञ्जनले प्रबलजंगलाई वरिष्ठको उम्मेदवारमा अघि सारेपछि कोषाध्यक्षमा जुटेन सहमति, ५ बजे चुनाव हुँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । महासंघ नेतृत्वले सर्वसम्मतिबाट कोषाध्यक्ष चयन गर्ने भन्दै सोमबार (आज) विहान ९ बजेसम्मको समयसीमा दिएपनि उक्त विषयमा सहमति जुट्न नसकेपछि अन्नतः निर्वाचन नै हुने भएको हो । महासंघ निर्वाचन समितिले आजै ५ बजे कोषाध्यक्षको निर्वाचन हुने भन्दै निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

laxmi

महासंघको कोषाध्यक्ष पदमा निरक केसी, प्रबलजंग पाण्डे, सन्दिप गाडिया र गोपाल खनाल गरी ४ जना आकांक्षी देखिएका थिए । जसमध्ये गोपाल खनालले निरक केसीलाई समर्थन गरिसकेका छन् भने सन्दिप गाडियाले पनि केसीलाई नै समर्थन गर्ने बुझिएको छ । महासंघ केन्द्रिय नेतृत्वले उक्त पदलाई सर्वसम्मतीबाट चयन गर्ने प्रयास गरेपनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले प्रबलजंग पाण्डेलाई अहिले जसरी पनि कोषाध्यक्ष बनाएर आगामी निर्वाचनमा वरिष्ठको उम्मेदवार बनाउने भन्दै अडान लिएपछि उक्त प्रयास असफल भएको हो ।

महासंघ उच्च स्रोतका अनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा बढी योगदान दिएको आधारमा निरक केसीलाई सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन गर्नुपर्ने भन्दै पदाधिकारी समक्ष प्रस्ताव राखेका थिए । तर अन्य पदाधिकारीले समर्थन गरेपनि अञ्जन श्रेष्ठ आफुले अध्यक्षको प्रस्ताव नस्विकार्ने र पाण्डेलाई जसरी पनि कोषाध्यक्षको उम्मेदवारमा अघि बढाउने अडान लिएको सम्बद्ध स्रोतको दावी छ । ‘आईतबार भएको छलफलमा पनि कोषाध्यक्षको विषयलाई लिएर उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच मनमुटाव भयो,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्ष ढकालले बहुमत सदस्यको प्रस्तावमा निरक केसीलाई अघि सार्ने अडानमा पुगेपछि आज अर्थ मन्त्रालयमा पनि वरिष्ठ उपाध्यक्ष अध्यक्षप्रति बढीनै आक्रोसित हुन पुगे ।’

महासंघको नयाँ कार्यसमितिको ७१ सदस्यमध्ये ४० भन्दा बढी सदस्यले केसीलाई कोषाध्यक्ष बनाउनुपर्ने भन्दै समर्थन जुटाएका छन् । सोही आधारमा अध्यक्ष ढकालले केसीलाई नै सर्वसम्मत रुपमा अघि बढाउने निर्णय लिएका थिए । तर वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रबलजंग पाण्डेलाई अहिले कोषाध्यक्ष बनाएर अर्कोपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेपछि थप समस्या उत्पन्न भएको हो ।

अहिले कोषाध्यक्षको निर्वाचनमा अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुह र अर्का वरिष्ठका प्रत्याशी रामचन्द्र संघईँको समुहबाट जिल्ला नगर उपाध्यक्षमा निर्वाचित सुरकृष्ण बैद्य निरक केसीलाई जिताउन लागेका छन् । सोही अनुरुप संघईँ समुहले समर्थन गरेमा केसीको पक्षमा ४७ र पाण्डेको पक्षमा २४ मत आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL