Logo

सुनसान चोभार सुक्खा बन्दरगाह : ७ महिनामा जम्मा ३६ करोडको वैदेशिक व्यापार, निर्यात ९८ लाखको मात्रै

सुनसान चोभार सुक्खा बन्दरगाह : ७ महिनामा जम्मा ३६ करोडको वैदेशिक व्यापार, निर्यात ९८ लाखको मात्रै



काठमाडौं । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरे । धुमधामका साथ उद्घाटन गरिएको उक्त बन्दरगाहका कारण नेपाली उद्योगी व्यवसायीलाई सहज हुने र उपभोक्तालाई पनि वस्तुको मूल्यमा केहि राहत हुने अनुमान गरिएको थियो । तर, परिस्थिति भनेजस्तो भएन यसले उल्टै सरकारको खर्च मात्रै बढाएर झन बोझ थोपरीदियो ।

laxmi

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यो बन्दरगाहबाट चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा जम्मा ३६ करोड २१ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको छ । विरगंज नाका हुँदै आएका ४ कन्टेनर भित्र्याएर उद्घाटन गरिएको उक्त बन्दरगाहमा उद्घाटन वरीपरी चहलपहल हुने भएपनि हाल सुनसानप्राय हुने त्यहाँका अधिकारीहरु बताउँछन् । विश्व बैंकबाट ऋण लिएर डेढ अर्व बढी खर्च गरी निर्माण गरिएको उक्त बन्दरगाहबाट चालु आवको ७ महिनामा ३५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा ९८ लाख ३० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिएको छ ।

बन्दरगाह संचालनमा आएदेखि गत आव अर्थात चैतदेखि असार मसान्तसम्म यो नाकाबाट १० करोड ४४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । त्यसमा चालु आवको व्यापार जोड्दा ४६ करोड ६५ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको देखिन्छ । अर्थात बन्दरगाह संचालनमा आएको १ बर्ष पुग्न लाग्दा उक्त बन्दरगाहबाट आधा अर्वकोसमेत वैदेशिक व्यापार नहुनुले बन्दरगाहमा गरिएको लगानी बालुवामा पानीसरह भएको विषयविज्ञहरु बताउँछन् ।

नेपालमा सामान भित्रिने र बाहिरिने अन्य भन्सार नाकाको चापलाई मध्यनजर गर्दै चाप कम गर्न निर्माण गरिएको उक्त बन्दरगाहको उपयोगिता खासै नभएको समेत आयात निर्यातको तथ्यांकले देखाएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर विरगंज, भैरहवा, विराटनगर लगायतका भन्सारबाट जाँचपास हुने गरेका थिए । यसरी दैनिक भित्रिने कन्टेनर र सिमानाकाका भन्सार कार्यालयमा हुने चापका कारण कन्टेनर जाँचपास हुन समय लाग्ने गरेको छ । यीनै समस्याको समाधानका लागि सबैभन्दा बढी कन्टेनर आउने काठमाडौंमै बन्दरगाहको निर्माणमा सरकारले जोड दिएपनि व्यवसायीहरु भने यसमा आकर्षित नभएको देखिन्छ ।

व्यवसायीहरुले उक्त बन्दरगाहमा कन्टेनर ल्याउने र जाँचपास गराउने आश्वासन दिएपनि सोहीअनुसार कन्टेनर भने आउने नगरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् । चोभार सुक्खा बन्दरगाहसँगैका अन्य बन्दरगाहबाट भने औषतमा अर्बाैं बढीको वैदेशिक व्यापार हुने गरेको छ ।

२ सय २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहामा कोरोना कहरकै बीच पनि काम निरन्तर हुँदा गत बर्षको असोजमै निर्माण सम्पन्न भएको थियो ।

२०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास भने ८ महिनापछि अर्थात सोही बर्षको माघमा मात्रै गरिएको थियो । त्यसअघि साउन ३० गते शिलान्यास गर्ने तयारी गरिएपनि स्थानीयको अवरोधका कारण शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो ।

यो बन्दरगाहा तातोपानीको बन्दरगाहजत्तिकै क्षमताको हो । यसमा ५ सयओटा कन्टेनर र ५ सय ट्रक पार्किङ गर्न सकिने गरी पार्किङ यार्ड, वेयर हाउस, भन्सार, बैंक तथा वित्तीय संस्थाका लागि र प्रशासनका लागि आवश्यक भवन, कन्टेनरसहितका ट्रकहरु भित्रिने र बाहिरिने ३ ओटा मुख्य द्वारलगायतको निर्माण गरिएको छ ।

सुक्खा बन्दरगाहको लागत अनुमान २ अर्ब १८ करोड ७२ लाख रुपैयाँ गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL