Logo

११ क्षेत्रमा बीमा कम्पनीहरुका लागि लगानीको बाटो खुला, प्राधिकरणले तोकेकै क्षेत्रमा मात्रै लगानी गर्न पाइने

११ क्षेत्रमा बीमा कम्पनीहरुका लागि लगानीको बाटो खुला, प्राधिकरणले तोकेकै क्षेत्रमा मात्रै लगानी गर्न पाइने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले लगानी गर्न पाउनेगरी विभिन्न ११ क्षेत्र तोकेको छ । प्राधिकरणले लगानी निर्देशिका परिमार्जन गर्दै क्षेत्र तोकेरै लगानी गर्न पाईने व्यवस्था गरिदिएको हो ।

laxmi

उक्त निर्देशिका अनुसार अब बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म विभिन्न क्षेत्रमा छुट्टा छुट्टै लगानी गर्न पाउने छन् । लगानी गर्न पाउने ११ क्षेत्रमध्ये बीमा कम्पनीहरुले बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा भने सबैभन्दा बढी ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, कुनै पनि संस्थाको सेयर, बन्ड, ऋणपत्रमा लगानी गर्दा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी लगानी भने गर्न पाइने छैन ।

त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाईने व्यवस्था निर्देशिकामा गरिएको छ ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर उक्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन ।

त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, घरजग्गा, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाईने छ ।

यीमध्ये घरजग्गामा रहेको लगानीलाई कम्तीमा प्रत्येक ३ वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने छ ।त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, नागरिक लगानी कोष तथा म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ ।

यसअघि बीमा कम्पनीहरुले आफै क्षेत्र रोजेर प्राधिकरणले तोकेको हिस्सा अनुसार लगानी गर्दै आएका थिए । अब भने प्राधिकरणले तोकिदिएकै क्षेत्रमा मात्रै लगानी गर्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL