Logo

घट्यो क्युआरमार्फत हुने भुक्तानी, मोबाईल बैंकिङ कारोबारमा १० अर्बको गिरावट

घट्यो क्युआरमार्फत हुने भुक्तानी, मोबाईल बैंकिङ कारोबारमा १० अर्बको गिरावट



काठमाडौं । कार्तिक महिनामा विभिन्न भुक्तानी प्रणालीबाट हुने भुक्तानीमा ठुलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कार्तिक महिनामा असोज महिनाको तुलनामा क्युआर कोडमार्फत हुने भुक्तानीमा मात्रै १ अर्ब १९ करोड ३० लाख रुपैयाँ बराबरको गिरावट आएको छ ।

laxmi

तथ्यांक अनुसार गत असोज महिनामा क्युआरमार्फत १७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानीका भएकोमा कार्तिकमा उक्त भुक्तानी घटेर १६ अर्ब १४ करोड ४० लाख रुपैयाँमा सिमित भएको हो । नेपाल राष्ट्र बैंकलगायत सरकारी पक्षले नै नगदरहित भुक्तानी प्रणाली विकास गरी प्रवद्र्धन गरिरहेको छ । त्यसैको एक माध्यम क्युआर पेमेन्ट भएपनि कार्तिक महिनामा भने यसमार्फत हुने भुक्तानीमा गिरावट आएको हो ।

यस्तै यस अवधिमा मोबाइल बैंकिङमार्फत हुने भुक्तानीमा समेत १० अर्ब बढिको गिरावट आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत असोज महिनामा मोबाइल बैंकिङमार्फत १ खर्ब ६२ अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । तर, कार्तिक महिनामा भने यस्तो भुक्तानी १० अर्ब १५ करोड १० लाखले घट्दै १ खर्ब ५१ अर्ब ९८ करोड रुपैयाँमा सिमित भएको हो ।

यसैगरी कार्तिक महिनामा इन्टरनेट बैंकिङमार्फतको भुक्तानीमा २५ करोडको गिरावट आउँदा आइपीएस भुक्तानी ४९ अर्ब, कनेक्ट आइपीएस भुक्तानी २७ अर्ब र डेबीट कार्डमार्फत हुने भुक्तानीमा ११ अर्ब रुपैयाँको गिरावट आएको छ । यस्तै कार्तिक महिनामा असोजको तुलनामा एटिएम कार्डमार्फत झिकिने पैसामा १० अर्ब ६२ करोड रुपैयाँ बराबरको गिरावट आउँदा आरटीजीएस भुक्तानीमा ४ खर्ब ७५ अर्ब रुपैयाँको गिरावट आएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता संकुचनको असर सर्वसाधारणमा पनि पर्दा भुक्तानी प्रणालीबाट हुने भुक्तानीमा समेत ठुलो गिरावट आएको देख्न सकिन्छ । कार्तिक महिनामा वालेट र इकमर्श भुक्तानी भने बढेको छ । राष्ट्र बैंकका अनुसार असोजको तुलनामा कार्तिकमा वालेटबाट हुने भुक्तानी ६५ करोडदले बढ्दा ईकमर्श भुक्तानी २४ करोडले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL