Logo

आगामी वर्षको विश्वव्यापी आर्थिक वृद्धि एशियामा निर्भर, ओइसीडीले नकार्यो आर्थिक मन्दीको खतरा

आगामी वर्षको विश्वव्यापी आर्थिक वृद्धि एशियामा निर्भर, ओइसीडीले नकार्यो आर्थिक मन्दीको खतरा



काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को पछिल्लो अनुमानअनुसार यस वर्ष विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ३ दशमलव १ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै ओइसीडिले भने आगामी वर्ष २ दशमलव २ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

ओेइसीडीले विश्वव्यापी मन्दीको डर घटेको पनि जनाएको छ । आगामी वर्षहरूमा विश्वव्यापी वृद्धिको गति सुस्त हुने अनुमान गरिएको भएपनि भारत र चीन जस्ता देशहरूले गर्दा विश्व मन्दीबाट बच्न सक्ने संगठनको भनाई छ । यो वर्ष भारतको जीडीपी वृद्धि साउदी अरेबियापछि सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।

ओइसीडीले मन्दीको पूर्वानुमान गरेको छैन तर यसको अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भन्दा कम छ । आईएमएफले गत महिना विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले वृद्धि हुने र अर्को वर्ष २.७ प्रतिशतले वृद्धि हुने बताएको थियो ।

ओईसीडीले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रुसको आक्रमणले विश्व अर्थतन्त्रको यो दुर्दशा निम्त्याएको बताएको छ । यसले ऊर्जा संकट निम्त्यायो र विश्वव्यापी मुद्रास्फीति अनियन्त्रित भयो । आगामी वर्षको वृद्धि पूरै एशियाका ठूला देशहरूमा निर्भर हुनेछ । यी देशहरूले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा तीन चौथाइ योगदान गर्नेछन् ।

यो वर्ष भारतको अर्थतन्त्र ६.६ प्रतिशतको गतिमा बढ्ने अनुमान गरिएको छ भने सन् २०२३ मा ५.७ प्रतिशतको गतिमा वृद्धि हुने अनुमान गरिएको छ । अर्कोतर्फ चीनको यो वर्ष ३.३ प्रतिशत र अर्को वर्ष ४.६ प्रतिशतले वृद्धि हुनसक्छ । प्रतिवेदनले निर्यात र घरेलु मागमा आएको नरम वृद्धिका कारण आर्थिक वर्ष २०२३–२४ मा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.७ प्रतिशतमा झर्ने जनाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२२–२३ मा ६.६ प्रतिशतले वृद्धि भएपछि आगामी त्रैमासमा अर्थतन्त्र सुस्त भएर २०२३–२४ मा ५.७ प्रतिशत र २०२४–२५ मा ७ प्रतिशतमा पुग्ने छ ।

अमेरिकी अर्थतन्त्र

अर्कोतर्फ अमेरिकी अर्थतन्त्रले यो वर्ष १.८ प्रतिशत र अर्को वर्ष ०.५ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ । युरोपका १९ देशको अर्थतन्त्र यो वर्ष ३.३ प्रतिशत र अर्को वर्ष शून्य दशमलव ५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

ओईसीडीका अनुसार यो वर्ष विकसित देशहरूमा मुद्रास्फीति नौ प्रतिशतभन्दा माथि रहन सक्नेछ । आगामी वर्ष ६ दशमलव ६ प्रतिशत हुने अनुमान छ । अमेरिकालगायत धेरै देशमा मन्दी आउने सम्भावना छ । तर, पछिल्ला केही दिनमा मन्दीको आशंका केही कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL