Logo

निर्जीवन बीमा व्यवसाय : अनिवार्य गरिएको मोटर बीमाको हिस्सा उच्च, सहुलियत भएपनि कृषि बीमामा छैन रौनक

निर्जीवन बीमा व्यवसाय : अनिवार्य गरिएको मोटर बीमाको हिस्सा उच्च, सहुलियत भएपनि कृषि बीमामा छैन रौनक



काठमाडौं । नेपालमा बीमा व्यवसाय निकै सुस्त रहेको अवस्था छ । त्यसमा पनि केही बाध्यात्मक व्यवस्था गरिएका बाहेकका अन्य बीमालेखहरुको विक्रीदर त झन नाजुक छ । बीमा समितिका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म नेपालमा २५ लाख १७ हजार ३ सय १५ मात्रै निर्जीबन बीमालेख जारी भएका छन् ।

laxmi

जसमा सबैभन्दा बढी हिस्सा मोटर बीमाकै छ । जो अनिवार्य नै गरिएको छ । सरकारले तेस्रो पक्ष बीमा अनिबार्य गरेका कारण निर्जीवन बीमा व्यवसायमा यसको हिस्सा ठूलो देखिन्छ । बीमा समितिका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म १६ लाख २४ हजार ६ सय २ मोटर बीमालेख जारी भएका छन् । यो संख्या चालु आर्थिक बर्षको हालसम्म जारी भएका कुल बीमालेखको साढे ६४ प्रतिशत हो ।

सरकारले निर्जीवन बीमा व्यवसाय बढाउनका लागि विभिन्न कम्पनीहरुलाई दुर्गम भेगमा पुग्न निर्देशन दिइरहेको भएपनि कम्पनीहरु कम व्यवसाय आउने स्थानम जान नमान्नाले निर्जीवन बीमा व्यवसायको विस्तारमै संकुचन आएको बीमा विज्ञहरु बताउँछन् । बढी व्यवसाय हुने स्थानमा मात्रै बीमा कम्पनीहरु एकत्रित हुँदा दुर्गममा बीमा सेवा नपुग्ने र सोह अनुसार बजार पनि भनेबमोजिम नबढ्ने गरेको बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । उनका अनुसार बीमा कम्पनीहरुले नै नचाहेर निर्जीवन बीमा व्यवसाय भनेबमोजिम विस्तार हुन सकेको छैन ।

कृषि बीमामा न्यून आकर्षण

हाल निर्जीवन बीमा व्यवसायमा सरकारले सहुलियत दिएका बीमालेख पनि ज्यादै न्यून विक्री भइरहेको तथ्यांकमा देखिन्छ । समितिको तथ्यांकअनुसार सरकारले बिमितको ८० प्रतिशत प्रिमियम तिरिदिने गरेको कृषि तथा बाली बीमामै बिमितको आकर्षण न्यून छ । यसमा पनि बीमा व्यवसायीहरुले बीमा दावी भुक्तानीमा गरेका अप्ठ्याराका कारण कृषकहरु आकर्षित नभएको एक कृषकले बताए ।

उनका अनुसार बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीका क्रममा कहिले के पुगेन कहिले के पुगेन भन्दै तनाव दिने भएपछि धेरैजसो कृषकहरुले झन्झट भएको बताउँदै आएका छन् । बीमा कम्पनीहरुले बीमा गर्ने बेलामा सजिलै गरिदिने र दावी भुक्तानी गर्नुपर्दा धेरै नै बखेडा गर्ने गरेको कृषकहरुको भनाई छ । बीमा समितिका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म १ लाख ५० हजार ३ सय ७८ कृषि तथा बाली बीमालेख जारी भएका छन् । यो चालु आवको हालसम्म जारी भएका कुल बीमालेखको जम्मा ६ प्रतिशत मात्रै हुन आउँछ । सरकारले कृषकहरुको बाली तथा पशुपंक्षीको सुरक्षाका लागि भन्दै कृषि बीमालेखको ८० प्रतिशत प्रिमियम व्यहोरिदिने गरेको छ । कृषि तथा बाली बीमामार्फत जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले जम्मा १४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम कर्णालीमा

भौगोलिक विकटताका कारण बीमा कम्पनीहरुले कर्णालीका दूरदराजमा पुग्न नमानेपछि बीमाको पहुँच यस क्षेत्रमा ज्यादै न्युन छ । समितिकै तथ्यांक हेर्दा चालु आवको जेठसम्म सबै प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले २५ लाख २० हजार ३ सय १५ बीमालेख जारी गरेका छन् । जसमध्ये सबैभन्दा बढी बीमालेख भने बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमै देखिन्छ । समितिको तथ्यांकअनुसार यस अवधिमा बागमति प्रदेशमा ११ लाख ३४ हजार बीमालेख जारी भएका छन् भने कर्णाली प्रदेशमा ४८ हजार बीमालेख मात्रै जारी भएका छन् । यस्तै यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशमा ३ लाख ८७ हजार, प्रदेश १ मा ३ लाख १८ हजार, गण्डकीमा २ लाख ६८ हजार बीमालेख जारी गरेका छन् । यस्तै कम्पनीहरुले सोही अवधिमा मधेश प्रदेशमा २ लाख ३३ हजार र सुदूरपश्चिम प्रदेशमा १ लाख २ं५ हजार बीमालेख जारी गरेका छन् ।

यसरी चालु आवको जेठसम्म जारी गरेका बीमालेखको संख्या गत आवको सोही अवधिको तुलनामा भने करिव ५ प्रतिशतले कम हो । यता चालु आबको जेठ महिनाको बीमाशुल्क आर्जनको कुरा गर्दा निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसमा मोटर बीमा शुल्कको हिस्सा २५ प्रतिशत छ । अर्थात जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेख विक्री गरेर ७६ करोड ६ लाख रुपैयाँ शुल्क उठाएका छन् ।

नेपालमा हाल २० ओटा कम्पनीहरुले निर्जीवन बीमा सेवा दिईरहेका छन् । उक्त २० कम्पनीहरुले चालु आबको हालसम्म ३४ अर्ब १५ कोड ८८ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । यसमा मोटरबीमाको हिस्सा सबैभन्दा बढी हुँदा सम्पत्ति, विबिध, सामुद्रिक, हवाई, इन्जिनियरिङ तथा लघु बीमाको हिस्सा भने क्रमशः न्युन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL