Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ देखि एकीकृत कारोबार शुरु गर्दै, यसरी टुंगियो मर्जर प्रक्रिया

हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ देखि एकीकृत कारोबार शुरु गर्दै, यसरी टुंगियो मर्जर प्रक्रिया



काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जरपश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । दुवै इन्स्योरेन्सले मंगलबार एक सूचना जारी गर्दै साउन १ देखि एकीकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएका हुन् ।

laxmi

आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्ते वीमा समितिबाट आषाढ ८ गते अन्तिम स्वीकृतिपत्र प्राप्त गरेका थिए ।

‘सोही सन्दर्भमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौबाट गाभ्ने र गाभिने संस्थाको गाभ्ने गाभिने मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडले सकार्ने गरी मिति २०७९ आषाढ २३ गते प्राप्त स्वीकृती पत्र बमोजिम संयुक्त मर्जर समितिको मिति २०७९ आषाढ २४ गतेको निर्णयले मर्जर पश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०७९ श्रावण १ गते आईतबारदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोवार संचालन गरिने जानकारी गराईन्छ’, सूचनामा उल्लेख छ ।

दुवै कम्पनी १००ः८५ रुपैयाँको स्वाप रेसियोमा मर्जरमा गएका हुन । उक्त स्वाप रेसियो अुनसार एभरेष्ट इन्सोरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्रदान गर्ने गरि गाभिएका हुन् ।

मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बन्नेछन् । साथै हिमालयन इन्स्योरेन्सबाट अजयरत्न स्थापित र विजितकृष्ण श्रेष्ठ सञ्चालक बन्ने भएका छन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सबाट भुगोल राई, रामप्रसाद खनाल र हेमराज थापा सञ्चालक बन्ने भएका हुन् ।

त्यस्तै, सल्लाहकारमा भने दुवै कम्पनीबाट एकएक जना गरी दुई जना रहने छन् । एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिमालयन इन्स्योरेन्सका सञ्चालक विजय कुमार पन्त सल्लाहकार बन्ने छन् ।

मर्जरपश्चात् बन्ने इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन जनरल इन्स्योरेन्सले र सिनियर डेपुटी सीईओ (डीसीईओ) एभरेष्ट इन्स्योरेन्सले पाउनेछ । विजय बहादुर शाह सीईओ र एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतम सिनियर डेपुटी सीईओ बन्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २२०.९९ करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् हिमालयन जनरलबाट २२५ जना कर्मचारी र एभरेष्ट इन्स्योरेन्सबाट २१९ जना गरी कूल ४४४ जना पुग्नेछन् । मर्जरपश्चात् कम्पनीको शाखा संख्या ७५ वटा पुग्ने भएका छन् ।

यता मर्जरपश्चात् बन्ने इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क ३२५ करोड रुपैयाँ, बीमा कोष १२० करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बन्ने कम्पनीको नाफा २० करोड रुपैयाँ भन्दा बढी पुग्ने भएको छ ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ ।

समितिको निर्देशन अनुसार आगामी चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL