Logo

नयाँ वर्ष २०७८ बाट बाल्न पाइएला माथिल्लो तामाकोशीको विजुली ?, यस्तो छ प्रगति विवरण

नयाँ वर्ष २०७८ बाट बाल्न पाइएला माथिल्लो तामाकोशीको विजुली ?, यस्तो छ प्रगति विवरण



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनको रुपमा निर्माण भइरहेको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य २०७८ बैशाखमा सम्पन्न हुने बताईएपनि अहिलेसम्म कहिले आयोजना सम्पन्न हुन्छ भन्ने टुंगो छैन् । स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको उक्त आयोजना विस २०६८ सालमा निर्माण सुरु गरी विस २०७१ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विभिन्न बाधा अवरोधलाई कारण देखाउँदै आयोजनाको निर्माण सम्पन्न हुने म्याद थपिँदै आएको छ ।

laxmi

विभिन्न समयमा सरकारी अधिकारीले आफ्नै कार्यकालमा माथिल्लो तामाकोशीको निर्माण सम्पन्न गर्ने भाषण गरेपनि हालसम्म पनि आयोजनाबाट बिद्युत उत्पादन हुन सकेको छैन । तर, पछिल्लो समय आयोजनाले यही चैत्र मसान्तसम्म विद्युत नै उत्पादन गर्ने घोषणा आयोजनाले गरेको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार चैत्र मसान्तसम्म विजुली नै उत्पादन गर्नेगरी काम भईरहेको छ । जसको फलस्वरुप पनि नयाँ बर्षकै दिनदेखि आयोजनाको विजुली सेवाग्राहीको घरघरमा पुर्याउन सकिनेछ ।

तर, निर्माण समयमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनाका लागत हाल बढेर ७६ अर्ब बढी पुगेको छ । यसअघि गत आर्थिक बर्षभित्रै आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर हाईड्रोमेकानिकल कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीको लापर्वाही र कोरोना कहरका कारण निर्माणमा केही ढिलाई भएको थियो ।

तर, आयोजनाले धेरैचोटी आलोचना खेपिसकेका कारण पनि चैत्र मसान्तभित्रै जसरी पनि विद्युत उत्पादन गर्नुपर्ने चुनौती रहेको प्रवक्ता न्यौपानेले बिजखबरलाई जानकारी दिए । उनका अनुसार आयोजनामा निर्माणाधिन ६ ओटा पेनस्टक पाइपमध्ये एउटै पेनस्टक पाइपबाट भएपनि चैत मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्या राखिएको छ । ‘आयोजनाको ठेकेदार कम्पनीले नै हामीलाई धोका दिएपछि केही ढिलाई भने भएको हो,’ उनले भने, ‘तर पनि हामीले सबै समस्यालाई समाधान गरेर काम अन्तिम चरणमा पुर्याईसकेका छौं ।’

आयोजनामा हाइड्रोमेकानिकलतर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङ एन्ड रेल्वे कम्पनीले अन्तिम अवस्थामा काम गर्न नसक्ने बताएको थियो । त्यसपश्चात आयोजनाको पेनस्टक पाइप जडानका लागि आवश्यक सामग्री ढुवानी नभएपछि अहिले त्यो काम अस्ट्रेलियन कम्पनी एन्ड्रिज हाइड्रोले पाएको छ ।

विस २०६३ सालमा नेपाली काँग्रेसका दिवंगद नेता भीमबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह गरेर उक्त आयोजनाको निर्माण कार्य सुरु भएको थियो । भीमबहादुर तामाङको आग्रहलाई अस्वीकार नगरीकन गिरिजाप्रसाद कोइरालाले सो आयोजना अगाडि बढाएका थिए । तत्कालीन अर्थमन्त्री डा रामशरण महतले यती ठूलो आयोजना नेपाली साधन र स्रोतमा बनाउन नसकिने मतसमेत राखेका थिए ।

स्वदेशी लगानीमा निर्माण भैरहको ४५६ मेगावाट क्षमताको माथिल्लो तामोकोशी आयोजना निर्माण पश्चात सुख्खा याममा विद्युतमा स्व निर्भर हुने र वर्षायाममा विद्युत निर्यात गर्न पुग्ने गरी उत्पादन गर्न सकिने बताईएको छ । यो आयोजनापछि नेपालमा विद्युतमा आत्मनिर्भर हुने र देशको कायापलट हुने सरकारले दाबी गर्दै आएको छ ।

रन अफ रिभर बेसमा आधारित उक्त आयोजना दोलखा जिल्लाको लामाबगरमा निर्माणाधिन छ । ४ सय ५६ मेगावाट क्षमताको उक्त आयोजनाबाट बार्षिक २ हजार २ सय ८१ मेगावाट घण्टा जलविद्युत उत्पादन हुने अनुमान गरिएको छ । १२ लाख घनमिटरको जलाशय हुने उक्त आयोजनाको बाँधको क्षेत्र मात्रै १ हजार ७ सय ४५ वर्गकिलोमिटर रहेको छ ।

आयोजनामा ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्न लागिएको हो । निर्धारित समयमा आयोजना निर्माण पूरा नहुँदा एकातिर आयोजनाको लागत बढेको छ भने अर्कातिर आयोजनाले बिजुली उत्पादन गरेर कमाउन सक्ने रकम खेर गएको विषयविज्ञहरु बताउँछन् । पाँच वर्षअघि नै निर्माण सम्पन्न भएको भए उक्त परियोजना ४८ अर्ब रुपैयाँ हाराहारीमै निर्माण सम्पन्न हुन्थ्यो । यस्तै बिजुली बेचेर आम्दानी गर्ने वार्षिक ९ अर्ब रुपैयाँका दरले ४५ अर्ब रुपैयाँ कमाइसकेको हुन्थ्यो । अर्थात्, खर्च कटाउँदा पनि आयोजनाको लागतको ठूलो हिस्सा उठाइसकेको हुने थियो ।

तर आयोजनाको शुरुआतको अनुमानभन्दा लागत करीब १६ अर्ब र ब्याज तथा अन्य खर्च करीब ९ अर्ब रुपैयाँ थपिएको छ । अर्थात्, प्रतिमेगावाट करीब साढे १० करोड रुपैयाँमा बन्ने आँकलन गरिएको आयोजना निर्माण सकिंदा लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ नाघ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL