Logo

माइक्रोफाइनान्स र प्रतिफल नै नदिने कम्पनीहरुको आकाशिदो मूल्यवृद्धिप्रति राष्ट्रबैंकको चासो, पत्र काटेर लगानीको सम्पूर्ण विवरण माग

माइक्रोफाइनान्स र प्रतिफल नै नदिने कम्पनीहरुको आकाशिदो मूल्यवृद्धिप्रति राष्ट्रबैंकको चासो, पत्र काटेर लगानीको सम्पूर्ण विवरण माग



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले घ वर्गका वित्तीय संस्थाहरुले दोस्रो बजारमा उच्च लगानी गरेको आशंकामा नियमनकारी निकाय नेपाल राष्ट्रबैंकले सोको विस्तृत विवरण माग्दै थप लगानी नबढाउन आन्तरिक रुपमा निर्देशन दिन थालेपछि बजारमा निकै ठूलो खैलाबैला मच्चिएको छ । राष्ट्रबैंकले माइक्रोफाइनान्स कम्पनीहरुको सर्वसाधारणतर्फको सेयर लगानीमा बन्देज लगाउने बुझेर केही विकास बैंकहरुले घ बर्गका संस्था अर्थात माइक्रोफाइनान्स कम्पनीहरुको साधारण सेयरमा भएको लगानी हटाउन सेयर बिक्री चाप बढाएका छन् । यसले गर्दा ती कम्पनीहरुको सेयरमूल्य गत आइतबारदेखि नै निरन्तर घटिरहेको छ । खासगरी माइक्रोफाइनान्सको सेयरमा कर्नरिङ गरेर उनीहरुले दिने प्रतिफलभन्दा कयौं गुणा बढी मूल्य पुर्याइएपछि त्यस्ता सेयरमा सर्वसाधारण फस्न सक्ने भएकोले राष्ट्रबैंकले बेलैमा सचेत गराउन नयाँ व्यवस्था गर्न लागेको हो ।

laxmi

यसक्रममा राष्ट्रबैंकले पहिलो चरणमा विकास बैंकहरुलाई पत्र पठाएर ती कम्पनीहरुमा भएको लगानी विवरण मागेको छ । राष्ट्रबैंक स्रोतका अनुसार घ वर्गका संस्थाहरुको साधारण सेयरमा विकास बैंकहरुको बढी लगानी भएको आशंका छ । ब्यक्तिगत हैसियतमा अर्बौं रकमको कारोबार संभव छैन । अन्यत्र नाफा नदेखेपछि बैंक तथा वित्तीय संस्थाहरु यस्तो अल्पकालीन आम्दानीतर्फ आकर्षित भएका छन्् । साथै राष्ट्र बैंकले विकास बैंकले लघुवित्त कम्पनीमा पुससम्म गरेको लगानीको विवरण माग्नुका साथै आगामी दिनमा थप लगानी नगर्न समेत मौखिक रुपमा निर्देशन दिईसकेको राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ ।

नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका अनुसार बजारमा दैनिक कारोबार औषत ८ अर्ब माथि पुगिसकेको छ । बजारमा हरेक माइक्रोफाइनान्सको सेयर मूल्य हजार रुपैयाँ माथि छ । हाम्रो स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाहरु र सेयरका नवस्थापित खेलाडीहरुले आपसी सरसल्लाहमा कर्नरिङ गरेर माइक्रोफाइनान्सको सेयरलाई अविश्वसनीय ढंगले बढाएका छन् । कतिपयले अर्काका नाममा लिएका छन् । नक्कली डीपीआईडी खोली भरिएका सेयरहरुको नामसारी समेत भएको छैन । यसले गर्दा लगानीकर्ताहरु अतालिएका छन् । राष्ट्रबैंक स्रोतले यथार्थ विवरण आएपछि चाँडै निर्णय हुने बताएको छ ।

उक्त स्रोतले भन्यो, बजारको यो अविश्वसनीय उछालमा सर्वसाधारण लगानीकर्ता नफसुन र कर्जा लगानीका कारण त्यसले प्रणालीलाई असर नपुर्याओस भन्ने नै हो । दुनियालाई थाहा छ, केही नगण्य प्रतिफल दिने कम्पनीको त कुरै छाडौं दशकौंदेखि लाभांश नदिने, धितोपत्र बजारको अनुशासनमा नबस्ने र व्यवस्थापकीय सुधारमा आमूल सुधार नगरी लाभांश दिने हैसियत नबोकेका कम्पनीहरुको सेयरमूल्य समेत केही महिनाअघिको तुलनामा दोब्बर भैसकेको छ । यसले सर्वसाधारण लगानीकर्ताको कन्तविजोग बनाउनेवाला छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको दुरुपयोग नहोस भन्नेमा पनि राष्ट्रबैंक सचेत रहेको स्रोतले बतायो । स्रोतका अनुसार केन्द्रीय बैंक यसको सुक्ष्म निगरानीमा रहेको छ । यसक्रममा केही बैंक तथा वित्तीय संस्थाहरुमा स्थलगत निरीक्षणमा पनि टोली पठाइएको छ ।

प्राप्त सूचनाका आधारमा यस्तो प्रवृत्तिका बारेमा सम्बन्धित विभागको तर्फबाट गभर्नर महाप्रसाद अधिकारीलाई पनि एक सुक्ष्म छलफल आयोजना गरी जानकारी गराइसकिएको छ । जानकारीको एक अंश उल्लेख गर्दै स्रोतले भन्यो, केही बर्षअघि सम्म राष्ट्रबैंकले माइक्रोफाइनान्सको साधारण सेयरमा भएको लगानीलाई पनि बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा भएको लगानी गर्न पाउने व्यवस्था गरिएको थियो । तर अहिले संस्थापक सेयरमा भएको लगानीलाई मात्र विपन्न वर्ग कर्जामा गणना गर्न पाउने व्यवस्था गर्नुको अर्थ दोस्रो बजारमा लगानी गर्न हुँदैन भन्ने व्याख्या गरी बैंकहरुलाई पनि यस्तो लगानी भएकोमा कार्बाही गर्न सकिने कुरा उठ्यो । यसका लागि बैंकहरुसँग पनि विवरण माग्नुपर्ने कुरा उठेको थियो । छलफलपछि गभर्नर अधिकारीले एकैचोटि अफलोड गर्न लगाउँदा बजार क्र्यास हुनसक्ने भएकोले केही समय दिएर विकास बैंकलाई चाहि दोस्रो बजारको चलखेलबाट बाहिर नियन्त्रण गरिहाल्नुपर्ने बताएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाबाट अन्य शीर्षकमा प्रवाहित कर्जाको दुरुपयोग भएको हुनसक्ने संभावना रहेको र मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेख भएबमोजिमका व्यवस्थाहरु प्रभावकारी नभएकोबारे छलफल भएको थियो । सो छलफलपछि कतिपय प्रभावकारी नियमन नभएका, अपारदर्शी र ऐन कानुनको परिधिभित्र नबसेका कम्पनीहरुको सेयरमा कर्नरिङ गरी मूल्य बढाउने क्रम जारी रहेकोले त्यसलाई निगरानी गरी नियन्त्रण गर्न मौद्रिक नीतिको समीक्षामा अन्य उपाय ल्याउनुपर्नेमा पनि छलफल भएको जनाइएको छ । साथै प्रवाहित कर्जाको ऋणीहरुबाट हुन सक्ने दुरुपयोग नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरुले पनि सूचना तथा जानकारीहरु अद्यावधिक गरी बस्नुपर्ने र केन्द्रीय बैंकले पनि भिजिलन्ट हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL