Logo

आगामी हप्तादेखि बजारमा नागरिक स्टक डिलरको प्रवेश, सेयर बजारमा ५ अर्ब रुपैयाँ लगानी थपिने

आगामी हप्तादेखि बजारमा नागरिक स्टक डिलरको प्रवेश, सेयर बजारमा ५ अर्ब रुपैयाँ लगानी थपिने



काठमाडौं । नागरिक स्टक डिलरले आगामी हप्तादेखि कारोबार थाल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको कार्य संचालन अनुमति दिएसँगै आगामी हप्तादेखि कारोबार थाल्ने तयारी गरेको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले जानकारी दिए ।

‘हामीले अहिले विभिन्न संचारमाध्यबाट नागरिक स्टक डिलरलाई धितोपत्र बोर्डले संचालन अनुमति दिएको जानकारी पाएका छौं,’ उनले भने, ‘सोमबार पत्र बुझ्न बोर्ड समक्ष जान्छौं त्यसपश्चात सीडीएससीमा गएर इन्ट्रिग्रेशन गराएका कारोबार थाल्ने छौं ।’

नागरिक स्टक डिलरबाट दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि सफ्टवेयरलगायत सम्पूर्ण तयारी अवस्थामा रहेका कारण सीडीएससीबाट इन्ट्रिग्रेशन गराएसँगै कारोबार थालिनेसमेत श्रेष्ठले जानकारी दिए । सेयर बजारमा हुने उतारचढाव रोक्नलाई संचालनमा ल्याउने भनिएको स्टक डिलर कम्पनी लामो समयदेखि अन्यौलमा रहेको थियो । तर, बोर्डले अनुमति दिएसँगै अब बजारमा प्रवेश गर्न लागेको हो ।

कुल ५ अर्ब चुक्ता पूँजी तथा १० अर्ब जारी पूँजी रहेको नागरिक स्टक डिलर कम्पनीले आगामी हप्ताबाटै ५ अर्ब रुपैयाँ लगानी गर्ने छ । ‘कम्पनीहरुको सेयर मूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्ने यसको प्रमुख उद्देश्य हो’ कोषका प्रवक्ता सिलवालले भने ।

नागरिक स्टक डिलर संचानमा आएसँगै बजारको उच्च उतारचढाव नियन्त्रण हुने विश्वास लिईएको छ । हाल बजार घट्दा उच्च दरले घट्ने र बढ्दा पनि उच्च दरले बढ्ने गरेको छ । नागरिक स्टक डिलर बजारमा प्रवशे गरेपछि कुनै निश्चित समूहले मिलेमतो गरी बजारलाई चलखेल गर्न नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा खडा भएको नागरिक स्टक डिलर कम्पनीमा कोष बहुमत लगानी अर्थात ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले सर्वसाधारणका लागि पनि ३० प्रतिशत सेयर छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL