Logo

महासंघको उद्घोष : सबै उद्योगी व्यवसायी कालोसूचीमा बस्न तयार छौं तर, बैंकको ज्यादतीविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन्छौं

महासंघको उद्घोष : सबै उद्योगी व्यवसायी कालोसूचीमा बस्न तयार छौं तर, बैंकको ज्यादतीविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन्छौं



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिडको समय पारेर बैंकले उद्योगी व्यवसायीलाई अनावश्यक तनाव दिन थालेको भन्दै आन्दोलनमा उत्रने भएको छ । कोभिडका कारण उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थमा नीति नियमभन्दा बाहिर गएर बैंकहरुले ऋणीलाई कालोसूचीमा निकाल्ने तथा कर्जा असुलीमा अनावश्यक दबाब दिन थालेपछि महासंघले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेको हो ।

laxmi

पछिल्लो समय बैंक वित्तीय संस्थाले कोभिडको समयमा पनि व्यवसायीहरुलाई अनावश्यक फोन गरेर दुःख दिने तथा सोहीअनुरुप कालोसूचीमा राख्न थालेको गुनासो महासंघमा देशभरबाट आइरहेको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।

‘नेपाल राष्ट्र बैंकको नियम अनुसार पनि असारसम्म कर्जाको किस्ता तथा व्याज भुक्तानी गरेका ऋणीहरुलाई बैंकले अनावश्यक दबाब दिन मिल्दैन,’ उनले भने, ‘तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कोभिडबाट आक्रान्त भएका उद्योगी व्यवसायीलाई पनि किस्ता नतिरेको भन्दै कालोसूचीमा राख्ने तथा अनावश्यक फोन गरेर दबाब दिन थालेका छौं त्यसको विरुद्धमा महासंघले देशव्यापी आन्दोल सुरु गर्ने छ ।’

यदि बैंकहरुले उद्योगी व्यवसायीलाई नीति नियमभन्दा बाहिर गएर अनावश्यक दुःख दिन थालेमा उद्योगी व्यवसायीले बैंकको कर्जा समेत नतिर्ने उनको भनाई थियो । ‘यदि बैंक तथा वित्तीय संस्थाहरुले अहिलेकै अवस्थामा उद्योगी व्यवसायी माथि ज्यादती देखाउन थालेभने भने हामीले उद्योगी व्यवसायीले सामुहिक रुपमै ऋण नतिर्ने उद्घोष गर्दै आन्दोलनमा उत्रने छौं,’ उनले भने, ‘हामी पनि हेर्छौं बैंक तथा वित्तीय संस्थाले कति जना उद्योगी व्यवसायीलाई कालोसूचीमा राख्दो रहेछ ।’

पछिल्लो समय नेपाल राष्ट्र बैंकले उद्योग व्यवसायमा कोभिडले पारेको असर अनुरुप ऋणीहरुलाई कर्जाको किस्ता तथा व्याज रकम तिर्न ६, ९ र १२ महिनाको समय दिएको छ । तर बैंकहरुले भने कोरोनाका कारण अति प्रभावित क्षेत्रमा परेका होटल रेष्टुराँ, पर्यटन, वैदेशिक रोजगारलगायतका क्षेत्रमा प्रबाह भएको कर्जा उठौतीमा समेत कडाई गरेको महासंघको गुनासो छ ।

साथै श्रेष्ठले बैंकर्स संघको वार्षिक साधारणसभामा संघका अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सम्बोधन गर्दै राखेको मन्तव्यमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । ‘बैंकर्स संघका साथीहरुले हामीलाई राष्ट्र बैंकको नीतिले समस्या भयो उक्त नीति मान्दा बैंकिङ क्षेत्र समस्यामा पर्छ भन्ने जस्ता जुन खालका अभिव्यक्ति गभर्नर समक्ष दिनुभएको छ त्यसमा समेत हाम्रो आपत्ति छ,’ उनले भने, ‘बैंक भनेको विशेष प्रकृतिको व्यवसाय हो तर अहिलेको महा आपत्तिमा समस्या र घाटाजति सबै उद्योगी व्यवसायीले मात्रै व्यहोर्नु पर्छ भन्ने छैन नि ?’

बैंकमा रहेको जनताको पैसा डुब्न दिन नहुने बताउँदै बैंकमा लगानी गर्ने लगानीकर्ताभने घाटासमेत व्यहोर्न पर्ने उनको भनाई थियो । ‘जसरी उद्योगी व्यवसायीले नाफा घाटा जे भएपनि सहने गरी उद्योग व्यवसायमा लगानी गरेका हुन्छन् त्यसरीनै बैंकका लगानीकर्ताले भने बैंकमा लगानी गरेर चुक्ता पूँजी राखेका हुन्छ,’ उनले भने, ‘उद्योगी व्यवसायीले चाहिँ घाटा सहनु पर्ने अनि बैंकमा लगानी गर्नेले चाहिँ उक्त लगानीबाट घाटा व्यहोर्न नपर्ने किन ?’

पछिल्लो समय नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायी मैत्री नीतिगत व्यवस्था गरेपछि बैंकहरुले त्यसलाई नमान्दा अहिलेको अवस्था सिर्जना भएको समेत उनको भनाई थियो । पछिल्लो समय एनआईसी एसिया बैंकले दैनिकजसो ऋणीहरुलाई कालोसूचीमा निकाल्न थालेपछि उद्योगी व्यवसायीहरुमा तनाव सिर्जना भएको छ । यदि बैंकहरुले नसच्चिएर अहिलेकै जसरी उद्योगी व्यवसायीलाई कालोसूचीमा राख्ने तथा अनावश्यक दबाब दिन थालेमा देशभरका उद्योग बाणिज्य पत्राचार गरेर आन्दोलनमा उत्रिने समेत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL