Logo

सेयर बजार स्थिर कि अस्थिर ? नियामक र ठूला लगानीकर्ता भन्छन्- लगानीकर्ताका स्वघोषित नेताले विगारे

सेयर बजार स्थिर कि अस्थिर ? नियामक र ठूला लगानीकर्ता भन्छन्- लगानीकर्ताका स्वघोषित नेताले विगारे



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रक्रिया अनुरुप मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा र रियल स्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ भन्ने एक वाक्यांश उल्लेख गर्यो । तर, त्यसैको आधारमा राष्ट्र बैंकको अस्थिर नीतिका कारण पूँजी बजार अस्थिर भयो भन्दै लगानीकर्ताका स्वघोषित नेताहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउन पुगे ।

laxmi

राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षालाई लगानीकर्ताका स्वघोषित नेताले अपव्याख्या गरेर आन्दोलन तथा ज्ञापनपत्र बुझाउन दौडिदा आईतबार बजारमा चलान लगानीकर्ता (प्लेयर)ले खेल्ने मौका पाएर सोहीअनुरुप बजारमा हालसम्मकै उच्च १२३ अंकले गिरावट आएको एक ठूला लगानीकर्ताले बताए । ‘अहिले पूँजी बजारमा विभिन्न संघसस्थाका स्वघोषित नेताहरु पूँजी बजार अस्थिर भयो भन्दै विभिन्न माग राखेर धितोपत्र बोर्ड र राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाउन दौडिरहेका छन्,’ ती लगानीकर्ताले भने, ‘अब त्यस्ता स्वघोषित लगानीकर्तालाई कसले बुझाईदिने पूँजी बजार स्थिर हुँदैन भनेर ?’ बजारमा नेप्से परिसुचक बढ्छ मात्रै घट्दैन भन्ने अल्पज्ञान भएका लगानीकर्ताको समूह र त्यस्तै सोचका लगानीकर्ताका नेता भएका कारण समस्या उत्पन्न भएको ती लगानीकर्ताले बताए ।

अहिले सेयर बजारभन्दा पनि लगानीकर्ताका स्वघोषित नेता अस्थिर हुँदा समस्या उत्पन्न भएको ती ठूला लगानीकर्ता बताउँछन् । ‘नेप्से परिसुचक १४०० विन्दुबाट बढेर २१०० विन्दूमा पुग्दा लगानीकर्ताका स्वघोषित नेताहरुले लगानीकर्ताहरुलाई बजार घट्न पनि सक्छ, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर कहिल्यै सिकाए ?,’ ती लगानीकर्ताले भने, ‘उनीहरुले लगानीकर्तालाई सचेत गराउनुको सट्टा आफु स्वार्थका सीमिति कम्पनीको नामै तोकेर सामाजिक संजालमा सेयरको मूल्य ३ हजार पुग्छ, ५ हजार पुग्छ भन्ने हौसला दिँदै सूचनाको पासो थापे, अहिले बजारमा करेक्सन आउँदा लगानीकर्ताहरु तिनै स्वघोषित नेताहरुले थापेको पासोमा परेका हुन् ।’

अर्कोतर्फ राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा तीन शब्द लेख्दैमा बजारमा अप्रत्यासित रुपमा गिरावट आउनुले बजार वास्तविक रुपमा भन्दा पनि हल्लाको भारमा चलेको रैछ भन्ने प्रमाणित भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । विशेषगरी बजारको धर्म र मर्म नबुेका लगानीकर्ताका नेता हुँदा नियामक निकायले आफ्नो नियमित कार्य अन्तरगत सामान्य विषय परिवर्तन गर्दा पनि सीमित खेलाडीले आफ्नो कौशल देखाउने मौका पाउने गरेको छन् । साथै आईतबारको बजार नियमित प्रक्रियाभन्दा पनि नियामक निकायलाई थ्रेट दिनका लागि सिमित लगानीकर्ताले चलखेल गरेको हुन सक्ने समेत सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

यसैगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि आफहरुको लक्ष्य सेयर बजार घटाउने नभई वित्तीय क्षेत्रको नियमन भएको जानकारी दिएको छ । ‘राष्ट्र बैंकको लक्ष्य कहिले पनि पूँजी बजार घटाउने वा बढाउने भन्ने हुँदैन, हामीले त देशमा वित्तीय स्थायीत्व राख्दै सोही अनुरुप उत्पादनशिल क्षेत्रमा सस्तो व्याजदरमा कर्जा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने हो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘हामीले मौद्रिक नीतिमार्फत सिआरआर घटाएर, रिफाइनान्स बढाएर हो वा अन्य विधीमार्फत बजारमा बढीभन्दा बढी तरलता सिर्जना गर्दै सस्तो ब्यादरमा उद्योगी व्यवसायीलाई कर्जा प्रदान गर्न लागिपरेका छौं तर, त्यसरी बजारमा पठाइएको पैसा घुमाउरो बाटोबाट पुनः सेयर बजार र रियर स्टेटमा लगानी नहोस भनेर हामीले अध्ययन गर्न लागेका हौं ।’

साथै उद्योग व्यवसायमा निमित्त सस्तो ब्याजदरमा प्रदान गरिएको कर्जा सेयर बजारमा गएको आंशकामा छानविन गर्न लागिएको समेत राष्ट्र बैंकले जानकारी दिएको छ । तर, जसले कानुन सम्बत तरिकाबाट सेयर बजारमा लगानी गरिरहेका छन् उनीहरुका लागि असर गर्ने खालका कुनै पनि क्रियाकलाप राष्ट्र बैंकले नगर्ने समेत उक्त स्रोतको भनाई थियो ।

तर, यदि कुनै व्यक्ति वा उद्योगी व्यवसायीले उद्योग व्यवसायका लागि कर्जा लिएर सेयर बजारमा लगानी गरेको छ भने छानविन गरेर कानूनी दायरामा ल्याइनेसमेत उक्त स्रोतको दावी छ । ‘राष्ट्र बैंकले उद्योग व्यवसाय विस्तार गर्दै देशमा रोजगारी सिर्जजा गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सस्तो ब्याजदरमा कर्जा प्रबाह गरेको हो, सेयर किनबेचका लागि होइन,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुले पनि सेयर बजारमा धेरै लगानी गरेको भन्ने गुनासो आएको छ । उनीहरु माथि पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL