सेयर बजारमा ‘कालोधन’ भित्रिएको आशंकामा धितोपत्र बोर्डले थाल्यो अनुसन्धान, नेप्सेसहितको अनुसन्धान टोली बनाईदै


रामराजा श्रेष्ठ
2 December, 2020 8:20 am

black-money-share-market

काठमाडौं । पछिल्लो समय सेयर बजारमा उच्च रुपमा लगानी भित्रन थालेपछि नियामक निकाय धितोपत्र बोर्डले त्यसको अनुसन्धान गर्ने भएको छ । बोर्डले पछिल्लो समय सेयर बजारमा स्रोत नखुलेको रकम (कालोधन) भित्रिएको गोप्य सूचना पाएपछि अनुसन्धानको तयारी गरेको हो ।

FoneLoan-250x250
Yamaha

कोभिडका कारण अर्थतन्त्रका कुनै पनि परिसूचकमा सुधार नभएको अवस्थामा नेप्से परिसूचक अस्वभाविक रुपमा बढेको र सोहीअनुरुप लगानी भित्रन थालेपनि बोर्डलै कमिटीनै बनाएर अनुसन्धान प्रक्रिया अघि बढाउन लागेको हो । ‘अहिले बजारमा कुनै स्ट्रेन्थनै नभएका कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेको छ भने लगानी कहाँबाट भित्रिरहेको छ भन्ने पनि एकिन हुन सकेको छैन,’ बोर्ड स्रोतले भन्यो, ‘अहिले लगानीकर्ताले कुन स्रोतबाट पैसा ल्याएर सेयर बजारमा लगानी गरिरहेका छन् त्यसको विस्तृतमा छानविन गर्ने छौं ।’

यसभन्दा अघि सेयर बजार उच्च अंकमा पुग्दा पनि बजारमा स्रोत नखुलेको रकम भित्रिएको भन्दै बोर्डले अनुसन्धान अघि बढाएको थियो । तत्कालिन समयमा पनि स्रोत नखुलेको रकम भित्रिएको भेटिएपछि त्यसपश्चात बजार ओरालो लागेको थियो ।

तर, अहिले पनि सेयर बजारमा स्रोत नखुलेको रकम भित्रिन नदिन कडाई गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमनसँगै पुनः बजारमा स्रोत नखुलेको रकम लिएर बसेका लगानीकर्ताको प्रवेश हुन थालेको सम्बद्ध स्रोतले बताउँछ । संयोग त के छ भने तत्कालिन समयमा पनि अर्थमन्त्री विष्णु पौडेलनै रहँदा लगानीकर्ताले जथाभावी रुपमा सेयर बजारमा लगानी भित्र्याएका थिए । साथै अहिले पनि बजारमा सोही अनुरुप लगानीकर्ताहरुले स्रोत नखुलेको रकम लिएर प्रवेश गरेको सम्बद्ध स्रोतको दाबी छ । विशेषगरी सेयर बजारमा दोहोरो नागरिकताधारी लगानीकर्ताहरुले स्रोत नखुलेको रकमको प्रवेश गराएको समेत उक्त स्रोतको दावी रहेको छ ।

साथै बजारमा पछिल्लो समय उच्च रुपमा सेयर कर्नरिङ हुन थालेपछि त्यस विषयमा समेत बोर्डले अनुसन्धान गर्ने भएको छ । ‘अहिले बजारमा राम्रो प्रतिफल घोषणा गरेका तथा सेयर बजारमा उच्च प्रतिनिधित्व रहेको बैंकिङ समुहको सेयरमा कुनै वृद्धि भएको छैन,’ बोर्ड स्रोतले भन्यो, ‘तर ३ बर्षदेखि बार्षिक साधारणसभा नै गर्न नसकेको विशाल बजार, कुनै प्रतिफल नदिएको साल्ट ट्रेडिङ तथा लामो समयदेखि लगानीकर्ताको लगानी फसेका जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।’ पछिल्लो समय लगानीकर्ताले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गरेर खेल्न थालेकाले पनि त्यस विषयमा अनुसन्धान गर्न लागिएको बोर्ड स्रोतको भनाई छ ।

बोर्डका स्रोतका अनुसार बजारमा अस्वभाविक रुपमा पैसा भित्रन थालेपछि छानविनका लागि अर्थमन्त्रालयलाई समेत जानकारी गराईसकेको छ । ‘अहिले सेयर बजारमा अस्वभाविक रुपमा परिसूचकहरु बढेका छन् भने सोही अनुरुप लगानी पनि भित्रिएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘यदि बजार क्र्यास भयो भने सोझासीधा लगानीकर्ताहरु धेरै मारमा पर्ने देखिएको छ । त्यसले पनि हामीले लगानीको स्रोतको छानविन गर्न थालेका हौं ।’ साथै बजारमा लगानीको स्रोतको छानविन गर्न बोर्ड, नेप्से, तथा अन्य क्षेत्रका विज्ञ समेत राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्