Logo

चिनियाँ रक्षामन्त्री वेई फेंग्हे काठमाडौँमा, यस्तो छ औपचारिक कार्यक्रम तालिका

चिनियाँ रक्षामन्त्री वेई फेंग्हे काठमाडौँमा, यस्तो छ औपचारिक कार्यक्रम तालिका



काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम तालिका :

वेई चार्टर्ड विमानबाट काठमाडौं आउँदै छन् । उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन्। दूतावासको छोटो बसाइँपछि उनको औपचारिक भेटवार्ता सुरु हुनेछ ।

जंगी अड्डा स्रोतका अनुसार रक्षामन्त्री वेईको पहिलो औपचारिक भेट प्रधानसेनापति थापासँग हुनेछ । सैनिक स्रोतका अनुसार दिउँसो २ बजे उनी जंगी अड्डा पुग्नेछन् ।

सेनापतिसँगको भेटपछि उनले थापासँगै नेपाली सेनाको टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । जंगी अड्डाको भेट र छलफल पछि उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेछन् । बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि उनी शीतल निवास पुग्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि उनी त्यहीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL