Logo

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, तीन ठाउँमा मतदान केन्द्र

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, तीन ठाउँमा मतदान केन्द्र



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । महासंघको शुक्रबारबाट सुरु भएको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बनेछन् भने बरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान टिम प्रतिस्प्रर्धामा रहेका छन् । शनिबार बिहान आठ बजेबाट मतदान प्रक्रिया सुरु भएको महासंघको निर्वाचन सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्यांकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी गरि ३ स्थानमा मतदानका लागि स्थान निर्धारण गरिएको छ । जसअनुसार प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की ब्यांकेट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

गत चैतमा नै हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भई मंसिर ११ गते देखि सुरु भएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् । यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ ।

जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्नुत्रिएका छन् भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् । यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL