Logo

अमेरिकी नागरिकले डिसेम्बर ११ देखि फाइजरको कोरोना भ्याक्सिन लगाउन पाउने, बाँकी विश्वका नागरिकले कहिले पाउँछन् खोप ?

अमेरिकी नागरिकले डिसेम्बर ११ देखि फाइजरको कोरोना भ्याक्सिन लगाउन पाउने, बाँकी विश्वका नागरिकले कहिले पाउँछन् खोप ?



काठमाडौं । अमेरिकामा यही डिसेम्बर ११ देखि आम मानिसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन्। त्यहाँको कोरोना भाइरस भ्याक्सिन कार्यक्रमका प्रमुख डा. मोनसेफ सलोईका अनुसार भ्याक्सिनले स्वीकृति पाएको २४ घण्टाभित्रै त्यसलाई भ्याक्सिनेसन सेन्टरमा पुर्‍याउने योजना छ। 

laxmi

अमेरिकामा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला डा. सलोईको यो भनाइ आएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ १ करोड २० लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या २ लाख ५५ हजार नाघिसकेको छ। मृतकको संख्या अन्य देशको तुलनामा कैयौं बढी हो। 

औषधि कम्पनी फाइजर र बायोएनटेकले कोरोना भ्याक्सिनको आपतकालीन स्वीकृतिका लागि अमेरिकामा निवेदन दिएका छन्। आफ्नो कम्पनीले तयार गरेको भ्याक्सिनले ६५ वर्षभन्दा बढी उमेरका मानिसमा ९४ प्रतिशत काम गरेको उसको दाबी छ। २०२० मा ५ करोड र २०२१ मा १ अर्बं ३ करोड डोज भ्याक्सिन तयार गर्ने फाइजरले बताएको छ। एकजनाले कोरोनाको दुई डोज भ्याक्सिन लिनुपर्ने हुन्छ।

अमेरिकामा भ्याक्सिनको स्वीकृतिका लागि १० डिसेम्बरमा खाद्य एवं औषधि प्रशासन (एफडीए) को बैठक बस्दैछ। डा. सलोईले सीएनएनसँग भने, ‘भ्याक्सिनले स्वीकृति पाउनेबित्तिकै भोलिपल्टदेखि नै मानिसहरुलाई लगाउन सुरु गरिनेछ।’ २०२१ मे सम्ममा ७० प्रतिशत मानिसलाई अमेरिकामा भ्याक्सिन दिइने योजना रहेको उनले सुनाए। 

यसअघि अमेरिकाले रिजेनेरानले तयार गरेको एन्टिबडीलाई आपतकालीन स्वीकृति दिएको थियो। उक्त एन्टिबडी कोरोना संक्रमण भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दिइएको थियो। 

यसैबीच, विश्वका धनी देशहरुको संगठन जी२० का नेताहरुले विश्वभर कोरोना भ्याक्सिनको उचित वितरण सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
MBL