Logo

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ, नेतृत्वमा आएपछि महासंघको प्रतिष्ठा अझ उँचो बनाउने काम गर्छु : उपाध्यक्ष ढकाल

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ, नेतृत्वमा आएपछि महासंघको प्रतिष्ठा अझ उँचो बनाउने काम गर्छु : उपाध्यक्ष ढकाल



नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालले आफूले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्‍ने गुनासो तत्काल समाधान हुने बताएका छन् ।

laxmi

नेपालगन्जमा आयोजित चुनावी भेलामा उनले भने, ‘‘यसअघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईंहरुकै साथमा छु र सँगै रहनेछु । सदाजस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’’ वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उनले बताए ।

‘‘अहिले विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष बिताएको भन्दै अब आफूले नेतृत्व गर्न पाउने दाबी गर्दै आउनुभएको छ,’’ उनले भने, ‘‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैंले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । नेतृत्वका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’’आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन लागि पर्ने उनले बताए । ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।

“आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ,” उनले भने ।

यसअघि शुक्रबार बर्दियाको गुलरिया उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा-सदस्यको जस्तो मान्यता पनि नदिने गरेको गुनासो आएपछि ढकालले उक्त कुरा बताएका हुन् ।

“जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तब मात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवर्द्धन भई देशको आर्थिक विकासमा टेवा पुग्‍नेछ,” उनले भने । त्यसैले पनि व्यापारी, व्यवसायीलाई कुनै अप्ठ्यारो पर्यो भने तथा हाम्रा समग्र व्यावसायिक हकहितका विषयमा समस्या उत्पन्‍न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्न अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले यसअघि आफूहरुले सहयोग गरेका कतिपय उमेदवारले चुनाव जितेपछि प्रतिबद्धताअनुरुप काम नगरेको भन्दै यसपटकको वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्र ढकाल नेतृत्वको टिमबाट त्यस्तो धोका नहुने बताए ।

‘‘यसअघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर यसपटकको हाम्रो उमेदवार चन्द्र ढकालले ७७ वटै जिल्लामा विभिन्‍न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सीमित भएर बस्नुहुने छैन । जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्नुहुनेछ,’’ उनले भने, ‘‘हाम्रो प्यानल विजयी हुनेबित्तिकै जिल्ला नगरका समस्या समाधान गर्न हामी लाग्नेछौं ।’’

जिल्ला नगरतर्फका उपाध्यक्षका उमेदवार गुणनिधि तिवारीले यसअघि सो पदमा वस्तुगत वा एसोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे । ‘‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत छ । तर त्यसअनुरुप अधिकार दिइएको छैन,’’ उनले भने, ‘‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उमेदवारी दिएको हुँ ।’’

कार्यक्रममा कर्णाली प्रदेशबाट रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्‍व चन्द, कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही, बराहाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चलाउने, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विश्वकर्माको उपस्थिति थियो । यसैगरी कार्यक्रममा अन्य प्रदेशका २ दर्जनभन्दा जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL