Logo

२५ वर्षलाई बन्चरेडाँडाको ल्याण्डफिल्ड साईट तयार, अनुगमनपछि राज्यमन्त्री मानन्धरले भने-केही वर्षमा मुलुकको कायापलट हुन्छ

२५ वर्षलाई बन्चरेडाँडाको ल्याण्डफिल्ड साईट तयार, अनुगमनपछि राज्यमन्त्री मानन्धरले भने-केही वर्षमा मुलुकको कायापलट हुन्छ



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताएका छन् । आईतबार नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साईटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताए ।

laxmi

मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न आफुहरु लागिपरेको पनि बताए । मन्त्री मानन्धरले कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै आगामी आर्थिक वर्ष सम्ममा धेरै परिणाम देखिने दाबी गरे । जनताको चाहाना र समृद्धिको सपना पुरा गर्न आफुहरु निकै मेहनतका साथ लागिरहेको उनको भनाई थियो ।

बन्चरेडाँडामा कार्तिकदेखि फोहोर

मन्त्री मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो फेज निर्माण सकिने बताउँदै कार्तिक पहिलो सातादेखि फोहर विसर्जन हुने जानकारी दिए । कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साईड निर्माण सकिने दाबी गरे ।

सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिए । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालिन योजनासहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साईट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए ।

कोभिड संक्रमणका कारण केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिएका छन् । सरकारले आवश्यक सबै पुर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिए ।

केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारीता देखिन नसकेकव बताउँदै ढलाई गरि हुने काममा सम्झौता नहुने प्रस्ट पारे । मन्त्री मानन्धरले गुणस्तर कायम हुनेगरी तोकिएको मिति भित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताए ।

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साईट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिवद्वता व्यक्त गरे । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयन समेत गर्छ भन्दै मन्त्री मानन्धरले सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार रहेको बताए।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिए। पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL