Logo

होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर खुल्यो, व्यवसायीलाई भाडा छुट दिन पसल कवल धनीहरु सहमत

होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर खुल्यो, व्यवसायीलाई भाडा छुट दिन पसल कवल धनीहरु सहमत



काठमाडौं । काठमाडौंको मुटुमा रहेको होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर पुनः सञ्चालनमा आएको छ । कोरोना संक्रमण (कोभिड–१९) का कारण ३ महिना बढी बन्द रहेर सञ्चालनमा आएको सेन्टरका व्यवसायीहरुले पसल कवल धनीहरुले भाडा छुट नदिएको भन्दै आइतबारबाट स्वस्र्फूत सबै पसल बन्द गरेका थिए ।

laxmi

सोलगत्तै पसल कवल धनीहरुको समितिले व्यवसायीका गुनासो सम्बोधन गर्ने र उपयुक्त ढंगले व्यवसायीलाई भाडा छुट प्रदान गर्ने आश्वासन दिएपछि आइतबारैदेखि व्यवसायीले पसल सञ्चालनमा ल्याएका हुन् ।

सेन्टरमा भाडाका सम्बन्धमा रञ्जना व्यापार संघले पहल गरिरहेको भएपनि धेरैजसो पसल कवल धनीहरुले भाडा छुट दिन इन्कार गरेपछि निष्कर्ष निस्कन सकेको थिएन । संघले व्यवसायीलाई निश्चित मोडालिटी बनाएर छुट दिन पहल गरिहेपनि निष्कर्षमा पुग्न असफल भएपछि व्यवसायीहरु आक्रोशित भएका थिए ।

रञ्जना ट्रेड सेन्टर उपत्याकाकै महँगो भाडा रहेको व्यवसायिक केन्द्र हो । लकडाउनयता व्यापार ठप्प हुँदा त्यहाँ व्यवसाय सञ्चालन गर्ने करीब ५ सय व्यवसायी समस्यामा परेका छन् । तर, पसल कवल धनीहरुले अहिलेको विषम परिस्थितिमा पनि भाडामा व्यवसाय सञ्चालन गरिरहेकाहरुका लागि छुट दिन नखोज्नु किनै दुखद रहेको भन्दै व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।

‘कोरोनाका कारण अहिलेसम्म हाम्रो व्यवसाय ठप्प भयो, लाखौंको सामान स्टक छ, लाखौं रुपैयाँ क्षति भइसक्यो । यस्तो अवस्थामा पसल कवल धनीहरुले भाडा छुट राहत दिएर हामीलाई सहयोग गर्नुपर्ने कर्तव्य पनि हो’, एक व्यवसायीले भने । व्यवसायीले पसल कवल धनीहरुले भाडा छुट दिने आश्वासन दिएको बताउँदै लकडाउन अवधिभर भाडा छुट दिनुपर्ने बताए ।

मल व्यवस्थापनले भने पसल कवल धनीहरु र व्यवसायीले समस्या सुल्झाएर व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसमा व्यवस्थापनले सहयोग गर्ने बताएको थियो । सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुको रञ्जना व्यापार संघ रहेको छ भने पसल कवल धनीहरुले पनि केहीदिन अघिमात्र आफ्नो समिति गठन गरेका छन् । सेन्टरमा ९० प्रतिशत भन्दा बढी व्यवसायीहरु भाडामा पसल कवल लिएर व्यवसाय गर्दै आएका छन् भने केही पसल कवल धनीहरुले नै सञ्चालन गरिरहेका छन् ।

रेडिमेड कपडाको होलसेल बजारका लागि लागि महाबौद्ध क्षेत्र प्रमुख गन्तब्य रहँदै आएकोमा गुणस्तरीय र ब्राण्डेड रेडिमेड कपडाको होलसेलका लागि भने रञ्जना ट्रेड सेन्टर नेपालकै प्रमुख बजारको रुपमा स्थापित भएको छ । सेन्टरमा नेपालभर तथा भारत र भुटानसम्मबाट व्यवसायीहरु सामान खरीदका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL