Logo

राजस्व श्रोत व्यवस्थित बनाउन आयोगलाई अर्थमन्त्रीको निर्देशन

राजस्व श्रोत व्यवस्थित बनाउन आयोगलाई अर्थमन्त्रीको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आयकर, भ्याट र भन्सार तीनै किसिमका राजस्वका स्रोतलाई सुसंयोजित र व्यवस्थित हुनेगरी करप्रणालीको पुनरावलोकन गर्न निर्देशन दिएका छन् । उनले आइतबार उच्चस्तरीय कर प्रणाली पुनरावलोकन सुझाव आयोगका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । साथै मन्त्री डा महतले सुझावलाई आगामी बजेटमा समावेश गर्न मिल्नेगरी छिटो सुझाव पेश गर्न समेत आयोगलाई निर्देशन दिएका छन् ।

bizkhabar_fm

उनले कर प्रणालीको पुनरावलोकनको काम तुरुन्त थाल्न आयोग पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् । बिगत लामो समयदेखि कर प्रणालीको पुनरावलोकनबारे चर्चा भए पनि काम अघि बढ्न सकेको थिएन । अर्थमन्त्री डा महतले कर प्रणालीको पुनरावलोकन आयोग गठनबारे चालु आर्थिक बर्षको बजेटमा नै घोषणा गरेका थिए । सोही अनुरुप डा. रुपबहादुर खड्काको अध्यक्षतामा उच्चस्तरीय कर पुनरावलोकन सुझाव आयोग गठन गरिएको थियो ।

बिगतमा भन्सारबाट असूली हुने राजस्वको आकार ठूलो हुने बताउँदै अहिले राजस्वका क्षेत्रमा ठूलो परिवर्तन आइसकेको उनको भनाई थियो । ‘अहिले भन्सार होइन, आयकर र भ्याटबाट धेरै राजस्व असूली हुन थालेको छ,’ उनले भने, ‘हाल राजस्व चुहावट एक समस्याको रुपमा रहेको हुँदा यसको नियन्त्रणका उपाय पनि ल्याउनुहोस ।’

दुई दशकअघि करिब बार्षिक १२ अर्ब रुपैयाँ राजस्व असूली हुने गरेकोमा अहिले साढे ४ सय अर्ब राजस्व असूली हुन थालेको उनले जानकारी दिए । हाल राजस्वका क्षेत्रमा संरचनागत र प्रणालीगत हिसावले ठूलो परिवर्तन आएको हुँदा सवै पक्षको अध्ययन गरी सुझाव पेश निर्देशन दिएका छन् । आयोगका अध्यक्ष डा खड्काले तोकिए समयावधि भन्दा छिटो प्रतिवेदन पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL