Logo

एफएनसीसीआई पदाधिकारीलाई केन्द्रिय समितिको लगाम, दैनिक कामकाज बाहेक अन्य निर्णय गर्न नपाउने

एफएनसीसीआई पदाधिकारीलाई केन्द्रिय समितिको लगाम, दैनिक कामकाज बाहेक अन्य निर्णय गर्न नपाउने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीले दैनिक कामकाज बाहेक अन्य निर्णय गर्न नपाउने भएको छ ।

पछिल्लो समय महासंघ पदाधिकारी बैंठकले केन्द्रिय समितिलाई थाहा नै नदिई महत्वपूर्ण निर्णय गर्न थालेपछि केन्द्रिय कार्यसमिति बैंठकले दैनिक कामकाजका बाहेक अन्य निर्णय गर्न नपाउने व्यवस्था गरेको हो ।

पछिल्लो समय पदाधिकारी बैंकठ बस्दै आफुखुशी निर्णय गर्न थालेपछि महासंघभित्रै विवाद बढ्दै गएको थियो । महासंघ भित्रको विवाद रोक्न र महासंघलाई कानून र विधी अनुरुप संचालन गर्न यहि असार ८ गते बसेको बैंठकले अबका दिनमा पदाधिकारीले दैनिक कामकाज बाहेकका अन्य महत्वपूर्ण निर्णय गर्न नपाउने व्यवस्था गरेको महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

‘पछिल्लो समय महासंघ पदाधिकारी मात्र बसेर चुनावी मिति तोक्ने, दिर्घकालिन महत्वका निर्णय गर्ने, महासंघकै पूर्व अध्यक्ष विरुद्ध खेदप्रस्ताव पारित गर्ने जस्ता गैरकानूनी निर्णय गर्न थाले,’ ती केन्द्रिय सदस्यले भने, ‘तसर्थ यहि हप्ता बसेको केन्द्रिय कार्यसमिति बैंठकले पदाधिकारीले कार्यलयको दैनिक कामचलाउन बाहेक कुनै निर्णय गर्न नपाउने निर्णय गरिएको हो ।’

महासंघको सोमबार बसेको बैठकमा पदाधिकारीले केन्द्रिय कार्यसमितिलाई थाहा नै नदिई आफुखुशी निर्णय गर्न थालेको बन्दै त्यसको विरोधमा खनिएका थिए । ‘सिमिति व्यक्तिको स्वार्थमा मात्र महासंघ चल्दा त्यसले महासंघको गरिमामै आँच आउने भन्दै अबका दिनमा कुनै पनि निर्णय गर्दा केन्द्रिय कार्यसमितिमा ल्याउनु पर्ने व्यवस्था गरिएको हो,’ ती केन्द्रिय सदस्यले भने, ‘यदि तत्कालै निर्णय गर्नुपर्ने र केन्द्रिय कार्यसमिति बोलाउन नसकिएको खण्डमा स्थायी समितिबाट पनि गर्न सकिने व्यवस्था गरिएको छ ।’

हाल महासंघ पदाधिकारीमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु, किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र कोषध्यक्ष निरक केसी रहेका छन् ।

कोभिड १९ लाई मध्यनजर गर्दै महासंघले केन्द्रिय कार्यसमित र स्थायी समितिको बैंठक बोलाउने समयलाई समेत घटाए छ । यस अघि केन्द्रिय कार्यसमितिको बैंठक बोलाउन १५ दिन अघि सुचना दिनुपर्नेमा हाल आएर त्यसलाई ७ दिनमा झारिएको छ । यसैगरी स्थायी समितिको बैंठक बोलाउन ७ दिन अघि बैठक बोलानु पर्नेमा त्यसलाई समेत घटाए ३ दिनमा झारिएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL