Logo

पसल बन्द गराउँदै हिँडेपछि न्युरोडमा प्रहरी र व्यापारीबीच झडप, व्यापारीले भने-‘बरु गोली हान पसल बन्द गर्दैनौं’

पसल बन्द गराउँदै हिँडेपछि न्युरोडमा प्रहरी र व्यापारीबीच झडप, व्यापारीले भने-‘बरु गोली हान पसल बन्द गर्दैनौं’



काठमाडौं । काठमाडौंको न्युरोडमा मंगलबार बिहान प्रहरी र व्यापारीबीच घम्साघम्सी भएको छ । बिहानैदेखि खुलेका पसल बन्द गराउँदै हिँडेपछि प्रहरी र व्यापारीबीच वादविवाद भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

laxmi

जेठ २२ गतेबाट पसल खोल्दै आएका व्यवसायीलाई प्रहरीले पसल बन्द गर्न आग्रह गरेपछि विवाद उत्पन्न भएको हो । प्रहरीले पसल बन्द गराउँदै हिँडेपछि व्यवसायीले ‘बरु गोली हान पसल बन्द गर्दैनौं’ भनेपछि विवाद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

एसएसपी ज्ञवालीले सरकारले लकडाउन जारी राखेको बेला आफूहरूले त्यसको पालना गराउनु नै प्रमुख दायित्व भएको बताए । उनले भने, ‘पसल खोल्न अनुमति दिने अधिकार प्रहरीसँग हुँदैन । हामीले सरकारले लिएको नीति कार्यान्वयन गर्ने हो । लकडाउन खुलेको छैन । पसल कसरी खोल्न दिने ।’

एसएसपी ज्ञवालीले बल प्रयोग नगरी हार्दिकतापूर्वक व्यवसायीलाई लकडाउनको पालना गर्न आग्रह गरिरहेको बताए । उनका अनुसार न्युरोड क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । न्युरोड क्षेत्रमा केही पसल बन्द छन् भने केही खुलेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । व्यापारीहरुले बौद्धलगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् ।

तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएकाले आफूखुसी खोलेका पसलहरु बन्द गराउन थालेको बताएको छ । काठमाडौं महानगरपालिकाकै पहलमा बिहान ११ बजेसम्म पसल व्यवसाय सञ्चालनको तयारी भइरहेका बेला यस्तो स्थिति आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL