Logo

ओली र दाहालबीच कुरा मिल्यो, अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

ओली र दाहालबीच कुरा मिल्यो, अग्नि सापकोटालाई सभामुख बनाउने सहमति



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अग्नी सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउने सहमति जुटेको हो । सापकोटाको नाममा सहमति भए पनि अहिले औपचारीक रुपमा भने नाम सार्वजनिक गरेको छैन ।

सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने भएको छ। प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक डाकिएको हो । ४ बजे बस्ने सचिवलय बैठकबाट सभामुखको उम्मेद्वारको नाम अनुमोदन गरिने स्रोतले जानकारी दिएको छ ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो। तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडान लिएकी छिन ।

सभामुखको विषयमा गत आइतबारपछि बिहीवार र शुक्रवार अध्यक्षबीच छलफल भएको थियो। प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका थिए।

यता नेकपाका केही नेताहरु भने प्रस्तावित व्यक्तिभन्दा अन्य सभामुखको उम्मेदवार हुन सक्ने सम्भावना बढिरहेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL