Logo

दोलखामा २० करोड लागतमा २ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुँदै, यही हप्ता टेण्डर आह्वान हुने

दोलखामा २० करोड लागतमा २ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुँदै, यही हप्ता टेण्डर आह्वान हुने



काठमाडौं । दोलखामा २ हजार जना दर्शक क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुने भएको छ । २० करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त रंगशाला चरिकोटको टुँडिखेलमा निर्माण हुने भएको हो ।

laxmi

बागमती प्रदेश सरकार र भीमेश्वर नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको उक्त रंगशाला निर्माणको लागि यही हप्ता टेण्डर खुलाउने तयारी भइरहेको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । उनका अनुसार टुँडीखेलमा निर्माण हुने उक्त रंगशालाको दक्षिणी भागमा भने भिआईपी कक्षलगायत रहने छ । जसको माथिल्लो भागमा प्याराफिट रहनेछ । अन्य क्षेत्रमा ब्यापारिक प्रयोजनको लागि सटर निर्माण गरिने बताइएको छ ।

१ सय १० मिटर बाई ६५ मिटरको खेल मैदान रहने उक्त रंगशाला निर्माणको लागि विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार भईसकेकाले पहिलो चरण अन्तरगत टेण्डर आह्वान हुने भएको हो । दोलखामा निर्माण हुने उक्त रंगशाला निर्माणको काम २ चरणमा गर्ने तयारी गरेको राउतले बताए । पहिलो चरणमा १० करोड रुपैयाँ बराबरको टेण्डर हुनेछ । पहिलो चरणमा इर्मजेन्सी द्धार, डिस्प्ले बोर्ड, फोकस लाईटलगायतको काम हुने छ । यसका लागि साढे २ बर्ष समय तय गरिएको छ भने अर्को चरणको काम त्यसपछि गर्ने गरी ५ बर्षभित्रमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने भनिएको उक्त रंगशाला निर्माणको लागि प्रदेश सरकारमा समपुरक प्रस्ताव बुझाइएको र उक्त प्रस्ताव स्वीकृत भएपछि मात्रै प्रदेश सरकारको बजेट आउने राउतले जानकारी दिए । ५ बर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी रंगशाला निर्माणलाई तिब्रता दिइने नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले उक्त रंगशाला निर्माणसँगै जिल्लाकै अर्को स्थान मकैबारीमा अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माणको समेत योजना अघि बढाएको छ । उक्त रंगशाला निर्माणको लागि हाल जग्गा छनौट कार्य सम्पन्न भईसकेकाले बाँकी अध्ययन गरेपछि मात्रै के कति लगानी लाग्ने वा कसले लगानी जुटाउने विषयमा छलफल हुने राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL