Logo

औद्योगिक व्यवसाय ऐनको प्रभाव आईटी उद्योगमा, ३ बर्षमा साढे ४ अर्ब लगानी

औद्योगिक व्यवसाय ऐनको प्रभाव आईटी उद्योगमा, ३ बर्षमा साढे ४ अर्ब लगानी



काठमाडौं । नेपालको औद्योगिक वातावरणलाई लगानीमैत्री बनाउने उद्देष्यसहित ल्याईएको औद्योगिक व्यवसाय ऐनको प्रत्यक्ष प्रभाव आईटी उद्योगमा परेको छ । सरकारले नेपालको उद्योग क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्दै औद्योगिक व्यवसाय ऐन २०७३ ल्याएको थियो । जसको प्रभाव पछिल्लो समय आईटी क्षेत्रमा प्रत्यक्ष देखिएको हो ।

सरकारले उक्त ऐन ल्याएपश्चात उद्योग विभागमा आईटी क्षेत्रा उद्योग दर्ताको लहर चलेको विभागको तथ्याङ्कले देखाएको छ । उद्योग विभागका अनुसार उद्योगमा दर्ता नहुने आईटी क्षेत्रका कतिपय उद्योगहरु ऐन जारी भएपश्चात उद्योगमा दर्ता हुन थालेका छन । पछिल्लो ३ बर्षमा आईटी सेक्टरका ७० उद्योगमार्फत ४ अर्ब ६७ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ, जुन २०७३ को अन्त्यदेखिको तथ्याङ्क हो ।

उक्त ३ बर्षमा नेपालमा ईन्टरनेट सेवा प्रदान गर्ने, सफ्टवेयर डेभलपर, ट्रेनिङ सेन्टर लगायतका आईटीसम्बन्धी उद्योग दर्ता भएका छन् । यस्तै औद्योगिक व्यवसाय ऐन जारी भए पछि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका कतिपय कम्पनी उद्योगमा दर्ता भएका छन् ।

आईटी क्षेत्रकै कुरा गर्न हो भने नेपालमा सबैभन्दा ठुलो ईन्टरनेट सेवाप्रदायक मानिएको वल्र्डलिंक ऐन आएपश्चात मात्रै उद्योगमा दर्ता भएको देखिन्छ । वर्ल्डलिंकले नेपालमा पछिल्लो २४ बर्षदेखि सेवा दिँदै आएपनि उद्योगमा भने २०७३ को चैतमा मात्रै दर्ता भएको विभागले जानकारी दिएको छ ।
यस्तै अर्काे ईन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन पनि यसै महिना मात्रै उद्योगमा दर्ता भएको छ । विगत १९ बर्षदेखि नेपालमा सेवा प्रदान गर्दै आएको भायानेट भायानेट यसै महिनाको ५ गते उद्योग विभागमा दर्ता भएको हो । औद्योगिक व्यवसाय ऐन २०७३ ले कम्पनीमा दर्ता भएका तर उद्योगमा आउन चाहाने उद्योगलाई छुट दिएपछि भायानेट पनि उद्योग विभागमा दर्ता भएको विभागका निर्देशक प्रेम लुईँटेलले जानकारी दिए ।

ऐनमा १० करोड रुपैयाँ भन्दा कम स्थिर पूँजी भएका कम्पनी, फर्म लगायतका उद्योगहरु घरेलु तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनसक्ने व्यवस्था छ । यस्तै १० करोड देखि ६ अर्ब रुपैयाँसम्म पूँजी भएका कम्पनीहरु उद्योग विभागमा र ६ अर्बभन्दा माथि पूँजी भएका कम्पनीहरु लगानी बोर्डमा दर्ता हुनुपर्ने ऐनमा उल्लेख छ ।

औद्योगिक लगानी ऐन आएपछि आईटी क्षेत्रका मात्रै नभएर अन्य क्षेत्रका उद्योग पनि भटाभट उद्योगमा दर्ता हुन थालेका निर्देशक लुईँटेलले बिजखबरलाई जानकारी दिए । भायानेट कम्युनिकेसनले ५३ हजार ७ सय ४२ घर, ३ हजार ६ सय ३४ अफिस र १ हजार ७ सय ४ कर्पाेरेट ग्राहकसम्म आफ्नो ईन्टरनेट सेवा विस्तार गर्नेगरी विभागमा दर्ता भएको हो । मंसिर ५ गते विभागमा दर्ता भएको कम्पनीले ५ सय १० जनालाई रोजगारी दिने बताएका छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत भदौसम्म भायानेटका ईन्टरनेट ग्राहक संख्या ७३ हजार ९ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL