Logo

चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्ड १० लेनको बन्ने, साइट क्लियरेन्सको काम धमाधम

चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्ड १० लेनको बन्ने, साइट क्लियरेन्सको काम धमाधम



काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तरगतको कलंकी–गोपीकृष्ण सडक १० लेनको बन्ने भएको छ । आगामी बैशाखदेखि सुरु हुने उक्त सडक खण्डमा हाल साइट क्लियरेनसको काम भइरहेको छ । जस अन्तरगत सो क्षेत्रमा विजुलीका पोल, खानेपानी र ढलका पाईप सार्ने, रुख काट्नेलगायतका कामहरु तीब्र गतिमा भईरहेको छ ।

चक्रपथ बिस्तारको काम गरिरहेको चक्रपथ बिस्तार आयोजनाका अनुसार हाल साईट क्लियरको काम तीब्र रुपमा भईरहेकाले सडक विस्तारको काम बैशाखदेखि मात्रै सुरु गरिने आयोजना प्रमुख अमृतमणि रिमालले बताए । उनका अनुसार अबको दुई महिना भित्रमा साईट क्लियरको सबै काम सम्पन्न हुने र १० लेनको सडक निर्माण सुरु गर्ने छ ।

१० लेनमध्ये चिनियाँ ठेकेदार कम्पनीले ८ लेनको बनाउने र बाँकी २ लेनको भने नेपाल सरकार आफैंले बनाउने तयारी भईरहेको प्रमुख रिमालले जानकारी दिए । आयोजना प्रमुख रिमालका अनुसार सो क्षेत्रमा ११ सय ओटा रुख कटान भईसकेको छ भने ५ सय ओटा बिजुलीको पोल स्थानान्तरणको काम भइसकेकोे छ ।

कुल ११ दशमलव ३८ किलोमिटरको उक्त सडक खण्डमा २ सय १७ मिटर सडकको क्षेत्रभित्र पर्ने करिब ३०-३५ ओटा घर हटाउनु पर्ने आयोजना प्रमुख रिमालले बताए । अहिले सडक बिस्तारको अन्तिम डिजाईन आइनसकेकाले ती घरहरु हटाउने काम शुरु नभएको उनले बताए । ‘जबसम्म डिजाइन आईपुग्दैन तबसम्म ती घरहरु हटाउन सकिँदैन ।’ सो क्षेत्रमा पर्ने ३०/३५ ओटा घर हटाउन करिब २ अर्ब रुपैयाँ मुआब्जासमेत लाग्न सक्ने रिमालले बताए ।

आयोजनाका अनुसार उक्त सडक खण्डको निर्माणको जिम्मेवारी पाएको चाईनाको सांघाई कन्सट्रक्सन ग्रुपले सडक बिस्तारका लागि अन्तिम डिजाइनको काम गरिरहेको छ । निर्माणको जिम्मेवारी लिएको सो कम्पनीले अन्तिम डिजाइन पेश गरेसँगै सडक बिस्तारको कामले तीब्रता लिने पनि रिमालले बताए । यो सडक खण्ड विस्तारको लागि डिजाईन नआएसम्म के कति लगानी आवश्यक पर्ने भन्ने विषयमा अहिले नै भन्न नसकिने पनि प्रमुख रिमालले बिजखबरलाई बताए ।

चक्रपथ बिस्तारको पहिलो (कोटेश्वर–कलंकी) सडक खण्डको कामसमेत सांघाई कन्सट्रक्सन गु्रपले गरेको थियो । हाल सो सडक खण्डमा निर्माण गर्ने भनिएका ९ ओटा आकाशे पुल मध्ये ३ ओटा चिनियाँ कम्पनीले बनाएको थियो । सोही खण्डमा नेपाली पक्षले बनाउने ६ ओटा पुलको काम मध्य ३ ओटा पुलको निर्माण भने अन्तिम चरणमा रहेको छ । बाँकी ३ ओटा पुलको भने अझै निर्माण सुरु हुन सकेको छैन । त्यस्तै दोस्रो खण्डमा बन्ने आकाशे पुलको लागि पनि आयोजनाले डिजाईन माग गरेको छ । प्रमुख रिमालका अनुसार यो सडक खण्डमा हरेक ५ सय मिटरमा एउटा पुल राख्न चिनियाँ पक्षलाई आग्रह गरिने छ ।

उनका अनुसार हरेक ५ सय मिटरमा आकाशे पुल राख्ने हो भने कलंकीदेखि गोपीकृष्णसम्म आईपुग्दा ६ ओटा आकाशे पुल रहने छन् । पुरै परियोजना अन्तरगत भने ५४ ओटा आकाशे पुल रहनेछन । साथै पहिलो खण्डमा एउटा मात्रै अण्डरपास राखेको आयोजनाले दोस्रो र तेस्रो खण्डमा कति ठाउँमा अण्डरपास राख्ने भन्ने विषयमा पनि डिजाईन आईसकेपछि मात्रै जानकारी हुने उनले बताए ।

चक्रपथ बिस्तार आयोजना अन्तरगतकै तेस्रो खण्डको गोपीकृष्ण–कोटेश्वर सडक खण्ड भने सरकार आफैंले बनाउने तयारी गरिरहेको छ । तर सो क्षेत्रको धोबीखोला पुलदेखि तिलगंगा आँखा अस्पतालसम्म भने अहिले नै विस्तार नगर्ने समेत आयोजनाले स्पष्ट पारेको छ । आयोजनाको अनुसार तेस्रो खण्डको भने तिलगंगा आँखा अस्पतालदेखि मात्रै काम सुरु हुने छ ।

धोबीखोला पुलदेखि तिलगंगा आँखा अस्पताल सम्म धेरै घर टहरा हटाउनु पर्ने तथा पशुपति विकास कोषको जग्गासमेत रहेको कारण समय लाग्ने भएकाले तेश्रो खण्डको काम तिलगंगा आँखा अस्पतालदेखि कोटेश्वरसम्म विस्तार गर्ने गरी तयारी भईरहेको आयोजनाले जानकारी दिएको छ । दोश्रो खण्डको विस्तारको काम भने नयाँ डिजाईनअनुसार र पहिलो खण्डमा देखिएका कमजोरी तथा गुनासोलाई सम्बोधन गर्ने गरि काम गर्ने आयोजना प्रमुख रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL