Logo

बीमा कम्पनीको नेटवर्थ ९ अर्ब, दाबी १४ अर्ब

बीमा कम्पनीको नेटवर्थ ९ अर्ब, दाबी १४ अर्ब


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । हालैको भुकम्पका कारण भएको क्षतिलाई लिएर बीमा कम्पनीहरुमा १४ अर्ब रुपैयाँभन्दा बढीको दाबी आइसकेको छ । जबकी, बीमा कम्पनीहरुको कुल नेटवर्थ (चुक्ता पूँजी र जगेडा कोष) ९ अर्ब रुपैयाँको हाराहारी मात्रै रहेको देखिन्छ । हाल अग्नि बीमा पोलिसी जारी गरिरहेका नेपालका १६ बीमा कम्पनीको तथ्याङ्क हो यो । यी कम्पनीको चुक्तापूँजी करीब ५ अर्ब रुपैयाँ र जगेडा कोषको आकार करीब ४ अर्ब रुपैयाँको भएको आइतवार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र बीमा समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । बीमा समितिले हालसम्म करीब २९ करोड रुपैयाँ मात्रै दाबी भुक्तानी भएको बताएको छ । ‘यो सन्तोषजनक तथ्याङ्क होइन,’ समितिका अध्यक्ष प्राडा फत्तबहादुर केशीले भने, ‘हामीले अहिलेसम्म कम्तिमा पनि दाबीको २० प्रतिशत भुक्तानी भइसक्छ भन्ने अनुमान गरेका थियौं ।’

बीमा कम्पनीहरुले भुक्तानी गर्न हिचकिचाएको र सानो आकारमा मात्र भुक्तानी गरेको भन्ने गुनासो बजारमा ब्याप्त भएपछि अध्यक्ष केशीले त्यसलाई ‘स्वभाविक’ भन्दै प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो बेलामा बीमा कम्पनीहरुले ग्राहकको विस्वास जित्न सक्नुपर्छ ।’

उता बीमा कम्पनीहरुले भने यति छिट्टै १ हजारभन्दा बढी संख्याका बीमा दाबी भुक्तानी भइसक्नु भनेको ‘उदाहरणीय’ भएको भन्दै बचाउ गरे । कार्यक्रममा बोल्दै बीमक संघका अध्यक्ष विजयबहादुर शाहले संकटको बेलामा पनि बीमा कम्पनीहरुले ग्राहकलाई निरन्तर भुक्तानी दिइरहेको बताए । बरु, सर्भेयरले समयमै प्रतिवेदन नदिँदा भुक्तानीमा केही ढिलाइ भएको बीमकहरुले बताएका छन् ।

शिखर इन्स्योरसेन्सका प्रमुख कार्यकारी अधिकृत दीप्रकाश पाण्डेले सर्भेयरले अग्रंीम भुक्तानी दिन शिफारिश नगर्ने र ग्राहक स्वयम्लाई पनि अग्रीम भुक्तानी पाइन्छ भन्ने ज्ञान नभएकाले समस्या भइरहेको बताएका छन् ।
यति हुँदा हुँदै पनि बीमा कम्पनीहरु वित्तीय रुपमा सबल रहेको बीमकहरुले दाबी गरेका छन् । बीमाङ्क रकमको ठूलो हिस्सा पुनर्बिमा कम्पनीले बेहोर्ने भएकाले स्वदेशी बीमा कम्पनी स्वयम्ले बेहोर्नुपर्ने दायित्वको भार कम पर्ने पाण्डेले जानकारी दिए । ‘यसले गर्दा आजको दिनसम्म नेपाली बीमा कम्पनीहरु सुरक्षित नै छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL