काठमाडौं । त्रिशुली थ्रीबी हब सबस्टेसन निर्माण ६० प्रतिशत पुरा भएको छ । त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन उक्त २ सय २० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको हो ।
उक्त हब सवस्टेसनको ट्रान्सफर्मर रहने स्थानको जग हालिएको र कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने प्राधिकरणको भनाई छ ।
निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्बसाधारणसमेतको लगानी रहेका आयोजनाको विद्युत खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशकमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका थिए ।
घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिएका छन् ।
‘यो सबस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १ सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत खेर फाल्नु पर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ ।’
उनले निर्माणका क्रममा आउनसक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिने बताएका छन । उनले यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तिब्रता दिनुपर्नेमा जोड दिएका छन । सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ ।