Logo

नगर प्रहरीद्वारा १० हजार मोटरसाइकल कारवाहीमा, सवा ९७ लाख राजस्व संकलन

नगर प्रहरीद्वारा १० हजार मोटरसाइकल कारवाहीमा, सवा ९७ लाख राजस्व संकलन



काठमाडौं । काठमाडौं नगर प्रहरीले विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने ९ हजार ७ सय २५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ ।

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गर्ने गरेको बताएका छन । ‘दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कारवाही गर्दै आएका छौँ’, उनले भने ।

नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर १ हजार जरिवाना गर्दै आएको छ । नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ९७ लाख २५ हजार रुपैयाँ राजश्व समेत सङ्कलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त कारवाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताउँछन ।

‘सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ,’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा ९ लाख २१ हजार ९ सय १७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL