काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले पहिलो पटक संघीयता कार्यान्वयनमा ल्याएको भन्दै त्यसमा प्राविधिक रुपमा केही अन्यौलता भएको बताएका छन् । ‘हामीले अन्त सुनेको तर कसैले पनि नभोगेको संघीयता पहिलो पटक कार्यान्यनमा ल्याएका छौं त्यसैले केही समस्या आएको हो,’ नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं बार्षिक साधारणसभामा उनले भने, ‘भर्खर गाडी सिक्दा सिकारु ब्रेक र एक्सिलेटरमा झुक्एिजस्तो हामी पनि संघीयता कार्यान्वयनमा केही अन्यौलमा परेका छौं ।’
देश संघीयतामा गएर ल्याएको पहिलो बजेटमा केही समस्या भएको भन्दै अबका दिनमा त्यस्तो नहुने समेत उनले प्रतिवद्धजा जाहेर गरे । ‘यस वर्षको बजेटमा कतै कार्यक्रममा मात्र गएको कतै रकम मात्र गएको छ त्यसमा केही तालमेल भएको छैन,’ उनले भने, ‘संघीयतामा हामी सिक्ने र सिकाउने काम गर्दै कार्यान्वयनमा गइरहेको छौं अब त्यो समस्या हट्नेछ ।’
साथै कार्यक्रममा उनले व्यवसायीलाई स्वस्थ्य प्रतिश्पर्धा गर्न समेत आग्रह गरेका छन् । ‘अस्वस्थ्य प्रतिस्पर्धा गर्ने काम राजनीतिज्ञहरुको हो त्यस्तो खेलमा तपाईहरु नलाग्नुस,’ उनले भने, ‘व्यवसायी र सरकार एकजुट भई स्वस्थ्य प्रतिस्पर्धाबाट देशमा आर्थिक विकास गर्नुपर्छ ।’ हाल सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई कार्यान्वनयमा लैजान निजी क्षेत्रभन्दा आतुर भएको जानकारी दिँदै त्यसमा एकबद्ध भएर विकास निर्माणमा आयोजनाहरु अघि बढाउन आग्रह गरेका थिए ।
यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले देशमा केही नीति नियम सुधार भएर औद्योगिक वातावरण बनेपनि स्वदेशी लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिईन् । ‘अहिले भएको उच्च बैंक व्याजदर, ओरालो लाग्दो सेयर बजार तथा आफैले जग्गा खरिद गरी उद्योग स्थापना गर्नुपर्नेजस्ता कारणले व्यवसायीहरु उद्योग स्थापना गर्न अग्रसर भएको देखिँदैन,’ उनले भनिन्, ‘यसका लागि सरकारले अझै सहजकर्ताको भुमिका निर्वाह गर्नुजरुरी छ ।’