Logo

अर्थमन्त्री भन्छन्, अव युवाले स्वदेशमै रोजगारी पाउँछन्, युवालाई कृषिमा लाग्न आग्रह

अर्थमन्त्री भन्छन्, अव युवाले स्वदेशमै रोजगारी पाउँछन्, युवालाई कृषिमा लाग्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ चैत, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आगामी दिनमा युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने बताएका छन् । पछिल्लो समय सरकारले पूर्वाधारको विकास र निर्माणमा जोड दिएको बताउँदै त्यसबाट प्रशस्त रोजगारीका अवसरहरु सिर्जना हुने र युवाहरुले विदेशमा भन्दा स्वदेशमै बढी आम्दानी गर्नसक्ने बताए । ‘नेपालमा साधन र स्रोतको अभाव छैन,’ रुपन्देहीको देवदह स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटनका क्रममा उनले भने, ‘विकासका लागि हाम्रा साधन र स्रोतलाई तत्काल उपयोग गर्न जरुरी छ ।’ साथै सो कार्यका लागि सिर्जनशील र मेहनती जमातको खाँचो भएको बताए ।

सरकारले काम गर्ने र मेहनत गर्ने संस्कार एवं थिति बसाउन खोजेको स्पष्ट पार्दै कृषि क्षेत्रमा लागेर विदेशमा भन्दा बढी कमाउने अवसर दिलाउन युवाहरुलाई ५/६ प्रतिशत व्याजमै सुलभ कर्जाको व्यवस्था गरिएको जानकारी दिए । ‘पछिल्लो समय नेपालमा मात्र होइन, भारतमा र चीनमा समेत विदेश गएकाहरु धमाधम आफ्नो देश फर्किन थालेका छन्,’ उनले भने। ‘विदेशमा गएकाहरु त्यहाँको मेहनत गर्ने संस्कृतिबाट सिकेर नेपालमा साहसिक कामहरु गर्न थालेका छन ।’ साथै, त्यसको यसको चक्रीय असर र प्रभाव बढ्दै गएर कृषिमा नेपालले छिटै लामो फड्को मार्ने स्थिति बनेको उनको दावी छ । त्यसैलाई मध्यनजर गरी सरकारले पनि कृषिको उत्पादन, भण्डारण र बजारीकरणका लागि प्रशस्त सहुलियतहरुको घोषणा गरेको जानकारी दिए ।

कृषिका साथै पर्यटन र जलस्रोतको विकासबाट नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै पर्यटन र जलस्रोतको विकासका लागि सरकारले हालै केही साहसिक निर्णयहरु गरिसकेको बताए । यसले गर्दा आगामी ढाई बर्षभित्रैमा लोडसेडिङ्गको अन्त्य हुनेछ । त्यतिमात्र नभइ ठूला ठूला विद्युत परियोजनाहरुमा लगानी आएको स्थितिलाई हेर्दा त्यसको केही बर्षपछि हामी बिजुली निर्यात गर्न सक्ने स्थितिमा पुग्ने समेत उनले जानकारी दिए ।

लुम्बिनी पर्यटकीय दृष्टिले संसारमै परिचित रहेको उल्लेख गर्दै भैरहवास्थित अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माणपछि विशेषगरी बौद्धमार्गी पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि हुने उनको भनाइ थियो । ‘सरकारले यो विमानस्थललाई छिटो बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेको छ,’ उनले भने, ‘त्यसैगरी पोखराको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्यलाई पनि अगाडि बढाइसकेको छ ।’ निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि छिटै अगाडि बढ्नेछ । यसपछि पर्यटन क्षेत्रले ठूलो आम्दानी दिलाउनेछ र मुलुकको उच्च आर्थिक वृद्धि हुनेछ ।

अर्थमन्त्री डा महतले आजै कपिलबस्तुको गुड्डीमा रहेको अर्को साना किसान कृषि सहकारी संस्थाको आधुनिक सुविधासम्पन्न कार्यालय भवनको पनि उद्घाटन गरेका थिए । उनले स्थानीय इलाकामा रहेका पशुपालन परियोजनाहरुको अवलोकन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL