Logo

आजको अन्तिम फ्लाईट पश्चात नेपाल छाड्दै एयर एशिया, कसले तिर्छ १३ करोड बक्यौता ?

आजको अन्तिम फ्लाईट पश्चात नेपाल छाड्दै एयर एशिया, कसले तिर्छ १३ करोड बक्यौता ?



काठमाडौं । एयर एशियाले आजबाट नेपाल छाड्ने भएको छ । विगत ६ बर्षदेखि नेपालबाट उडान भर्दै आएको मलेसियन विमान कम्पनी एयर एशियाले आजबाट नेपालमा आफ्नो उडान बन्द गर्ने भएको हो ।

नेपालको सरकारी निकायसँगको विवाद र नेपालबाट मलेशिया जाने यात्रुको संख्यामा कमी आएसँगै एयर एशियाले नेपालबाट आफ्नो उडान बन्द गर्ने घोषणा गरेको हो । बक्यौता तिर्ने सम्बन्धमा नेपाल नागरिक उड्यन प्राधिकरणसँग भएको विवाद तथा मलेसियाको रोजगारीमा जाने नेपाली कामदारमा गिरावट आएसँगै एयर एसियाले यस अघिमा नै अक्टोवर १२ तारिखबाट नेपालमा उडान बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुरुप आज अन्तिम उडान गर्दै नेपालबाट आफ्नो सेवा बन्द गर्न लागेको एयर एशिया स्रोतले जानकारी दिएको छ । साथै बक्यौताको विषयलाई लिएर नागरिक उड्डन प्राधिकरणको अनावश्यक दबाबमा परेका कारणले पनि नेपालबाट उडान बन्द गर्न लागेको उक्त स्रोतको दाबी थियो ।

मलेसियन वायु सेवा कम्पनी एयर एशियाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चार तथा उड्डयन सहायक सेवा, विमानस्थल विकास शुल्क, अवतरण तथा पार्किङ शुल्क वापत गरी २७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । उक्त सबै प्रिन्सिपल रकम गत हप्ताको बिहीबार सम्ममा भुक्तानी गरिसकेको छ । तर, विलम्ब शुल्क र ब्याज तथा अन्य जरिवाना गरी थप १३ करोड रुपैयाँ तिर्न बाँकी रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । ‘एयर एसियाको आज अन्तिम फ्लाईट हो,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘उसले विमानस्थललाई ब्याज र विलम्ब शुल्क गरी १३ करोड रुपैयाँ तिर्न बाँकी छ त्यो रकम कसरी भुक्तानी गर्ने प्रतिवद्धता गर्न सोही अनुरुप आगामी दिनमा के गर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ ।’

एयर एशियाले केही समय अघि ब्याज र बिलम्ब शुल्कमा छुट विमानस्थललाई पत्राचार गरेको थियो । तर, उक्त रकम मन्त्रिपरिषद्को निर्णय विना प्राधिकरण वा त्रिभुवन विमानस्थलले छुट दिन सक्दैन । एयर एसियाले विमानस्थललाई प्रिन्सिपल रकम सबै तिरेपनि ब्याज र विलम्ब शुल्क गरी १३ करोड रुपैयाँ बाँकी रहेको र सो रकम कसरी उठाउने भन्ने विषयमा आजै दिउँसो टुङ्गो लगाउने समेत टीआईए स्रोतले जानकारी दिएको छ ।

यसैगरी एयर एशियाको नेपाल स्थित जिएसए इन्सेन्टिभ ग्रूप अफ कम्पनीज ९आईजीसी० ले पनि एयर एशियाले आजबाट नेपालबाट उडान बन्द गर्ने जानकारी दिएको छ । ‘एयर एशिया र हाम्रो सहमति अनुसार आज अन्तिम उडान गर्दै एयर एशियाले नेपालबाट उडान बन्द गर्ने छ,’ आईजीसी स्रोतले भन्यो, ‘आजबाट उडान बन्द गरेपछि एयर एशियाले फेरी तत्काल नेपालमा उडान गर्दैन ।’

सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष मनाउन लागिरहेको अवस्थामा मलेसियन एयरक्राफ्ट एयर एसियाले नेपालबाट उडान बन्द गर्दा त्यसले ठूलो असर पार्ने सम्बद्ध पर्यटन व्यवसायीहरु बताउँछन् । ‘नेपालबाट सबैभन्दा बढी यात्रु बोक्दै आएको एयर एसियाले सरकारी संयन्त्रको झण्झटिलो प्रक्रिया तथा यात्रुको संस्थाको कमी आएको कारण देखाउँदै नेपालबाट उडान बन्द गर्ने घोषणा गरेको छ,’ ती व्यवसायीले भने, ‘नेपालमा लामो समयसम्म चलेको एयर एसियाले विभिन्न कारण देखाएका नेपालबाट उडान बन्द गर्दा विश्वमा नेपालको नकारात्मक छाप पर्नुका साथै पर्यटन बर्ष २०२० लाई समेत असर पार्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL