Logo

निर्वाचित उम्मेदवार प्रमाणपत्र लिन नआएपछि अन्यौलमा निर्वाचन अधिकृत

निर्वाचित उम्मेदवार प्रमाणपत्र लिन नआएपछि अन्यौलमा निर्वाचन अधिकृत


बिजखबर संवाददाता
1.2k
Shares

काठमाडौं । टीकापुर हत्याकाण्डमा फरार रहेका रेशमलाल चौधरी कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका चौधरी प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । प्रहरीको फरारसूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए ।

वारेसनामाबाट उम्मेदवारी दिएर निर्वाचित भएका चौधरीलाई कसरी प्रमाणपत्र दिने भन्ने निर्वाचन आयोग नै अन्यौलमा परेको छ । उनी फरार रहेकै कारण विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन नपाइएको सो क्षेत्रका निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए । ‘चौधरी फरार सुचीमा रहेको र प्रमाणत्र बुझ्न आउँद पक्राउ पर्ने डरले अहिलेसम्म आएका छ्रैनन्,’ उनले भने, ‘अहिले उनी प्रमाणपत्र बुझ्न आउँछन् कि भनेर कुरेर बसिरहेको छु ।’

भुसालका अनुसार चौधरीलाई सो क्षेत्रका प्रहरीले विशेष चासोका साथ खोजी गरिहेको छ । कानुन त विजयी उम्मेदवार प्रमाणपत्र बुझ्न नआएपछि कसरलाई दिने भन्ने विषयमा अन्यौल भएकाले पर्खेर बस्नु परेको उनको भनाइ छ । ‘कानुनमा उनका प्रतिनिधिलाई प्रमाणपत्र दिन मिल्ने भन्ने विषय पनि स्पष्ट छै्रन,’ उनले भने, ‘केही समय कुरेर बस्ने र उनी नआए विजयी भएको सम्पूर्ण प्रमाण सहित निर्वाचन आयोगमा पठाइदिने छु ।’

राष्ट्रिय जनता पार्टीकातर्फबाट निर्वाचित चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी विजयी भएका हुन् । चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गर्दा शाहले १३ हजार ४ सय ६ मत पाएकी थिइन ।

प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनाको मूख्य योजनाकार चौधरी रहेको भन्दै उनलाई प्रहरी खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL