Logo

दशैंमा यसरी गर्नुस नोटको जतन, उपयुक्त १० तरिकासहित

दशैंमा यसरी गर्नुस नोटको जतन, उपयुक्त १० तरिकासहित



काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं हर्षउल्लासका साथ घरघरमा भित्रिएको छ । प्रत्येक वर्ष दशैं विश्वभर फैलिएका हिन्दु नेपालीहरुमा नयाँ उल्लास बोकेर आउने गरेको छ । दशैंको धार्मिक तथा सांस्कृत पाटोसँगै आर्थिक पाटोले पनि महत्वपूर्ण स्थान पाएको छ ।

दशैं भन्नेबित्तिकै नयाँ लुगा र नयाँ नोट नेपालीको मस्तिष्कमा घुम्ने गरेको छ । तथापि, गत वर्षदेखि केन्द्रीय बैंकले दशैंमा नयाँ नोट वितरण गर्न छाडेको छ । सुकिला नोटमै आम सर्वसाधारणले चित्त बुझाउँदै आएका छन् ।

आफूभन्दा ठूलाले टीका, जमरा र आशीर्वादसँगै आफन्तलाई दक्षिणाका रुपमा नोट दिने प्रचलन रहेको छ । नोटको जतन गर्दा राज्यलाई कम भार पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्छ । केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरु फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ ।

पुराना नोटहरुलाई नष्ट गर्दा राज्यले धेरै घाटा व्यहोर्दै आएको छ । यसतर्फ सचेत भएर दशैंमा दक्षिणा दिंदा होस् वा लिंदा नोटको जनत गर्नेतर्फ ध्यान दिन आवश्यक छ । नोटको जतन गर्नुपर्ने आम सर्बसाधारणको कर्तव्य पनि हो ।

कसरी जतन गर्ने नोट ?

नोटमा अविर नलगाउने

हिन्दू परम्परा अनुसार हामी घरमा पूजा गर्दा होस् या मन्दिरमा जाँदा भेटी चढाउने चलन छ । भेटी चढाउदा पैसामा अविर लागाउँछौं । त्यस्तै, दक्षिणा दिंदा पनि नोटमा अविर लगाउने चलन छ । यस्तो गर्दा नोटको आयु घट्छ । यसतर्फ सचेच हुन आवश्यक छ ।

नोटमा पानी नहाल्ने

हामी पूजा गर्दा होस् या मन्दिरमा भेटी चढाउँदा नोटमा पानी राख्ने गर्छौं । नोटमा पानी हाल्नु भनेको नोटको आयु घट्नु हो ।

नोट खाममा हालेर मात्रै दिने

हामीले चाडपर्वको बेला होस् या विवाह व्रतबन्धका बेला दक्षिणा स्वरुप पैसा दिँदा खाममा हालेर दिइयो भने नोटलाई सफा राख्न केही हदसम्म मद्दत पुग्दछ । जसबाट लिने र दिनेको हातमा भएको फोहोर लाग्नबाट पैसा बच्छ । त्यसका साथै मन्दिरमा भेटी चढाउँदा पनि खाममा राखेर चढाइयो भने त्यसमा अबिर र पानी लाग्नबाट पनि बच्छ ।

नोटमा स्टिज नलगाउने

नोटमा स्टिज लगाउँदा प्वाल पर्छ र छिटो थोत्रो हुन्छ । त्यसैले स्टिज लगाएर यसको आयु घटाउनेतर्फ हामी नलागौं ।

नोटमा केरमेट नगर्ने

नोटमा केरमेट गर्नु गैरकानुनी कार्य हो । त्यसैले हामीले नोटमा केरमेट गरेर असभ्यताको परिचय दिनु हुँदैन । हामीले पैसामा आफ्ना कुरा लेखेर के हुन्छ र आखिर त्यो अरुको हातमा गइहाल्छ ।

मन्दिरमा दान दिंदा दान पेटीकाको प्रयोग गर्ने

हिन्दू परम्परा अनुसार मन्दिरमा जाँदा भेटी चढाउने चलन छ । यदी मन्दिरमा भेटी चढाउन चाहानुहुन्छ भने मन्दिरमा सिक्का पैसा चढाउनुहोस् । प्रायः सबै मन्दिरमा दानपेटीका राखेको हुन्छ त्यहाँ चढाइदिनुहोस् ।

नोट नबटार्ने

हामीले आफूसँग भएको नोटलाई बटारर्ने वा जथाभावी रुपमा कुच्याएर राख्नुहुदैन । यसले नोटको आयु घटाउछ । नोट राख्दा सिधा तथा समानान्तर रुपमा राख्नुपर्छ । नोटहरु छरपस्ट नराखी मिलाएर राख्नुहोस् ताकि चिरा नपरोस् ।

नोट गन्दा थुक नलगाउने

हामीमध्ये कतिपएको बानी नोटहरु गन्दा थुक लगाउने बानी छ । यसो गर्नुहुँदैन । जतनका साथ सफा हातले नोट गन्नुपर्छ ।

बच्चाहरुलाई नोट खेलाउन नदिने

बच्चाहरुलाई नोट खेलाउन नदिनुहोस् । उनीहरुलाई नोट खेलाउन दिंदा च्यातिदिन सक्छन् भने नोट पुरानो पनि हुन्छ । यसले नोक्सानी हुनुका साथै नोटको आयु पनि घटाउँछ ।

पुराना वा च्यातिएका नोट राष्ट्र बैंकमा साट्ने

नोटको जतन गर्दागर्दै यदि नोट बिग्रिए वा पुरानो भएमा राष्ट्र बैंकमा साट्न सकिन्छ । बिग्रिएको वा पुरानो नोटको सट्टामा केन्द्रीय बैंकले नयाँ नोट दिन्छ । माथि उल्लेखित कुराहरु ख्याल गर्दा नोटको आयु केही मात्रामा बढाउन मद्दत पुग्नसक्छ । तर, समयपरिस्थिती अनुसार नोट जतन गर्ने तरिका फरक हुन्छ ।

नोट फोहोर गरे के कारवाही हुन्छ ?

नोटलाई नोक्सान हुुनबाट जोगाउन मुुलुुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था गरिएको छ । नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानुुनी व्यवस्था छ । राष्ट्रिय सम्पति नोक्सान हुुनबाट जोगाउन मुलुकी ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This