काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्व राख्दै आएको छ । योसँगै बालबालिकाहरुलाई दशैंमा मान्यजनको हातबाट टीका लगाएर आशीर्वादसँगै पाइने दक्षिणाले पनि विशेष महत्व पाउँदै आएको छ । दक्षिणालाई फजुल खर्चमा सक्नभन्दा बचत गर्न बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ । आफ्ना बालबच्चालाई बचत गर्ने बानीको विकास गर्नु अत्यन्त आवश्यक छ । सानै उमेरदेखि बचत गर्दा आवश्यक परेको बेला यो ठूलो सहयोगी हुुन सक्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले पनि बालबालिकालाई बचत गर्ने बानीको विकासगर्न उनीहरु लक्षित खाता सञ्चालन गर्दै आएका छन् । विशेष गरी यस्ता खाताबाट बालबालिकामा बचत गर्ने बानीको विकास हुन्छ भने अर्कोतिर बालबालिकाहरु वित्तीय पहुँचमा पनि अग्रसर हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न योजनाका साथ बालबालिका लक्षित बचत खाताहरु सञ्चालनमा ल्याएका छन् ।
बैंकहरुले बालबालिका बचत खाताको लागि छुट्टाछुट्टै ब्याजदर निर्धारण गर्दै आएका छन् । पछिल्लो समय कर्जा बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । त्यसैले उनीहरुले बचत खाताको ब्याजदर घटाउँदै लगेका छन् । तरलताअनुसार बैंकहरुले प्रत्यक महिना निक्षेप र कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् ।
सञ्चालनमा आएका २० वाणिज्य बैंकहरुले असोजको लागि ब्याजदर निर्धारण गरेका छन् । असोजको लागि बल बचत खातामा सबैभन्दा धेरै ब्याजदर दिनेमा कृषि विकास बैंक रहेको छ । यस बैंकले बल बचत खातामा ३.६७ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै, नेपाल बैंकले ३.५० प्रतिशत ब्याजदर दिने जनाएको छ ।
यता, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज र स्ट्याण्डर्ड चाटर्ड बैंकले बाल बचत खातामा २.८० प्रतिशत ब्याजदर दिने जनाएका छ । त्यस्तै, नेपाल एसबिआईले २.७९ प्रतिशत, सानिमाले २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । माछापुच्छ«े, नबिल र सिद्धार्थ बैंकले २.७७ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।
सिटिजन्स र कुमारी बैंकले २.७६ प्रतिशत ब्याजदर दिने जनाएका छन् । बाँकी ८ बैंकले बाल बचत खाताको ब्याजदर २.७५ प्रतिशत निर्धारण गरेका छन् । यीमध्ये अधिकांश बैंकले शून्य ब्यालेन्समा नै खाता खोल्ने व्यवस्था गरेका छन् भने केहीले भने खाता खोल्दा सामान्य रकम राख्नुपर्ने नियम बनाएका छन् ।