काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार व्यवस्थापनका लागि मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो।
गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा घाइते व्यक्तिहरूलाई आजैदेखि परिचयपत्र वितरण सुरु गरिएको छ। साथै, तत्कालका लागि स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइतेलाई भैपरी खर्च स्वरूप रु. २०,००० का दरले सहयोग उपलब्ध गराउने निर्णय भएको छ।
प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। घाइते भई उपचारार्थ अस्पताल जानेहरूले बिरामी टिकट/पुर्जा वा कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा राहत रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यसबारे जानकारी गराउँदै गृह मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी आचार्यले राहत वितरण प्रक्रिया प्रभावकारी र छिटो पार्ने उद्देश्यले परिचयपत्र वितरण र तत्कालीन भैपरी खर्चको व्यवस्था गरिएको प्रशासनलाई बताए।