काठमाडौं । विदेशबाट समेत नेपालीले अगामी चुनावमा मतदान गर्न पाउने व्यवस्थाको बारेमा छलफल भइरहेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी हुन् ।
‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानमन्त्री कार्कीले सम्बोधनमार्फत् नागरिकलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गर्दै सुरक्षासम्बन्धी निकायका भवनहरूलाई छिट्टै सञ्चालनमा ल्याउन सरकार जुटिरहेको उल्लेख गरिन् ।
उनले चुनावी सरकार सबै काम गर्न नसक्ने भए पनि सक्ने हदसम्म गर्ने प्रतिवद्धता व्यक्त गरिन् । औद्योगिक उत्पादनलाई उच्च प्राथमिकता दिने प्रतिज्ञासँगै उनले कोषमा रकम जम्मा गरी सहयोग गर्न समेत आग्रह गरिन् ।
सम्बोधनमा प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने संकेत दिँदै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने बताइन् । देखिएका नगद रकमसम्बन्धी छानबिन सुरु भइसकेको जानकारी दिंदै उनले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको उल्लेख गरिन् । अन्त्यमा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाललाई सफल पार्न सबै नागरिकसँग सहयोग र साथ दिन आग्रह गरिन् ।