काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको दशैं पर्वकै मुखमा नेपालका धेरैजसो राष्ट्रिय राजमार्गहरु अवरुद्ध छन् । हरेक बर्ष हर्षका साथ मनाइने यो पर्वमा देश तथा विदेशबाट आफुभन्दा ठूलाबडाको आशीर्वाद लिन बाहिर हुनेहरु आफ्नो गाउँघर फर्किन्छन् । जसका कारण केही दिनयता देशका अधिकांश सडकमा सवारी चाप उच्च छ । तर, दशैंकै मुखमा देशका अधिकांश सडक अवरुद्ध हुँदा दशैं मनाउने उत्साहसहित घर हिंडेका यात्रुहरु समस्यामा परेका छन् ।
सडक विभागका अनुसार मंगलबारसम्म देशभरका ३९ राजमार्गहरुका विभिन्न ४ सय ४७ स्थानमा सडक अवरुद्ध छन् । अर्थात धेरैजसो राजमार्गहरुमार्फत आवतजावत गर्न सकिने अवस्था भने छैन । मौसमविदहरुले यसबर्षको दशैं नै हिलेदशैंमा परिणत हुने पूर्वानुमान गरेपछि यातायात व्यवसायीहरुले यसपल्ट अग्रिम टिकट बुकिङ खोलेका छैनन् ।
काठमाडौं छोडेर या अन्य कुनै सहर छोडेर गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुले यात्रा गर्ने दिन अर्थात त्यसको ३ दिन अघिमात्रै टिकट लिन सकिने व्यवस्था छ । सोहीअनुसार हाल टिकट लिएका यात्रुहरुले पनि निर्धक्कसँग यात्रा गर्न नपाएको गुनासो गरिरहेका छन् । काठमाडौंबाट बाहिरिने प्रमुख मार्गका रुपमा रहेका पृथ्वी राजमार्ग र बीपी राजमार्गका धेरैजसो स्थानमा प्रतिदिन घन्टौं सवारीसाधन आवतजावत बन्द हुन्छ । सडकको माथिबाट खस्ने पहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त सडकहरुमा करिव १० किलोमिटर लामो सवारीसाधनको जाम लाग्ने गरेको सडक विभागका प्रवक्ता प्रभात कुमार झा बताउँछन् ।
यद्यपि दशैंको बेलामा यात्रुहरुलाई घरसम्म पुर्याउने दायित्व सरकारको पनि भएका कारण सडक विभागले पहिरो जाने, जान सक्ने र गएका स्थानमा आफ्ना उपकरणहरु तयार पारेको उनले बताए । ‘हामीले सडक सुरक्षाका लागि अधिकतम प्रयास गर्ने कोशिष गरिरहेका छौं,’ उनले भने, ‘प्राकृतिक प्रकोपका कारण निम्तिने समस्या समाधानका लागि हामी तैनाथ छौं ।’
प्राकृतिक प्रकोपकै कारण गएको शनिबारदेखि हालसम्म पनि पृथ्वी राजमार्गमा यात्रुहरुले सास्ती पाईरहेका छन् । खासगरी सुदूर पूर्व र सुदूरपश्चिम र कर्णालीलगायतका क्षेत्रमा जाने यात्रुहरुले सबैभन्दा बढी सास्ती पाइरहेको देखिन्छ । सडक विभागका अनुसार हालसम्म २ सय ६८ स्थानमा एकतर्फी सवारीसाधन संचालनमा आएका छन् भने अवरुद्ध भएका सडकहरुमध्ये १ सय ७२ स्थानमा दुईतर्फी सवारी संचालन गर्ने प्रयास भइरहेको छ ।