काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बिगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी २०८२/०६/०७ गते सोमबारबाट पुनः सुरु हुने घोषणा गरेका छन् । पहिलो चरणमा देशभरका दुर्गम क्षेत्रमा रहेका र मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिनेछ।
मेयर शाहका अनुसार, एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड तयार गरिएको छ, जसमा स्वास्थ्य सुविधाको अभावमा पछाडि परेका क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। ‘स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य हो,’ मेयर शाहले भने। उनले यो पहल केवल सुरुवात भएको र स्वास्थ्य सेवाको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने महानगरको लक्ष्य रहेको बताए।
वितरण प्रक्रियालाई पारदर्शी बनाउन पालिका छनोटका लागि स्पष्ट मापदण्ड तय गरिएको छ, जुन सार्वजनिक गरिएको छ। यो कदमले दुर्गम क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ।