काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३६.९३ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैर–बैंकिङ सम्पत्तिमा परेको हो । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ०.७६ प्रतिशत विन्दुले बढेको छ । गत वर्ष साउनमा औसत ३.८६ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको खराब कर्जा यो चालु आर्थिक वर्षको साउनमा ४.६२ प्रतिशत कायम भएको छ ।
एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३६.४९ प्रतिशतले बढेर ४२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकको खराब कर्जा ४ अर्ब ६८ करोड रुपैयाँ र फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७ करोड रुपैयाँ छ ।
खराब कर्जा, गैरबैंकिङ सम्पत्ति बढ्नुले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा अझै सुधार हुन बाँकी रहेको संकेत गर्छ । यद्यपि, पछिल्लो समय आर्थिक गतिविधिमा सुधारको संकेत देखिंदै आएको थियो । तर, पछिल्लो समय जेनजीको प्रदर्शनको कारण राजनीतिक परिवर्तन आएको छ । यसले केही समय अस्थिरता सिर्जना गर्न सक्ने बैंकरहरुको भनाई छ ।
वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति साढे ११ अर्ब रुपैयाँले बढ्यो
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको मात्रै गैर–बैंकिङ सम्पत्ति ११ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड कायम भएको छ । यो अघिल्लो वर्षकोभन्दा ३६.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ थियो ।
सबैभन्दा धेरै गैर–बैंकिङ सम्पत्ति हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको गैर–बैंकिङ सम्पत्ति १९.५४ प्रतिशतले बढेर ६ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक पनि यहि हो । त्यस्तै, हिमालयन बैंकको गैर–बैंकिङ सम्पत्ति ११२.०८ प्रतिशतले बढेर ५ अर्ब ८२ करोड पुगेको छ । एक वर्षको अवधिमा माच्छापुछ«े, कुमारी र राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु सबै बैंकको गैर–बैंकिङ सम्पत्ति बढेको छ ।
