काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो ।
जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका मोडलिङ विधिमा आधारित थिए ।
गर्मीको लहरका बेला मृत्यु प्रायः कम लेखिन्छ किनकि अस्पतालमा मुटु, सास फेर्न गाह्रो हुने वा अन्य रोगलाई नै कारण देखाइन्छ । यस्ता समस्या वृद्धमा झन् प्रबल हुन्छन् ।
यो गर्मीको स्थिति बुझ्न बेलायतका वैज्ञानिकहरूले जुनदेखि अगस्टसम्म आठ सय ५४ युरोपेली सहरमा तापक्रम औसत २.२ डिग्री सेल्सियस बढेको अनुमान गरे । ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा सो अवधिमा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको प्रक्षेपण गरियो ।
त्यसमध्ये करिब ७० प्रतिशत अर्थात १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष ग्लोबल वार्मिङकै कारण भएको द्रुत एट्रिब्युसन अध्ययनले देखायो । यसको अर्थ जलवायु परिवर्तनले गर्मीसम्बन्धी मृत्यु दर तीन गुणा बनाएको हुनसक्छ । यो अध्ययन इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका विज्ञहरूले संयुक्त रूपमा गरेका हुन् ।
यसअघि पनि एउटै गर्मीको लहरका लागि यस्तै नतिजा देखाइएको थियो । तर अधिकांश देशहरूले वास्तविक तथ्याङ्क ढिलो प्रकाशित गर्ने भएकाले अहिलेसम्म प्रत्यक्ष तुलना सम्भव छैन । अध्ययनका सह–लेखक फ्रेडेरिक ओटोले भने, “अहिले वास्तविक–समय तथ्याङ्क पाइँदैन, तर हाम्रो अनुमान यथार्थ नजिक छ ।”
अघिल्ला अनुसन्धानहरूसँग पनि यो अध्ययन मिल्दोजुल्दो छ । जस्तै नेचर मेडिसिनमा प्रकाशित अध्ययनले सन् २०२३ को गर्मीमा युरोपमा ४७ हजारभन्दा बढी मृत्यु भएको ठहर गरेको थियो ।
बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय विज्ञ अक्षय देवरासका अनुसार यी विधि वैज्ञानिक रूपमा बलिया भए पनि रूढीवादी छन्, वास्तविक मृत्यु अझ बढी हुनसक्छ ।
यस अध्ययनअनुसार सबैभन्दा धेरै मृत्यु रोममा आठ सय ३५, एथेन्समा छ सय ३० र पेरिसमा चार सय नौ भएको छ । करिब ८५ प्रतिशत मृत्यु ६५ वर्षभन्दा माथिका व्यक्तिमा देखिएको हो ।
शोधकर्ताहरूले केही क्षेत्र, जस्तै बाल्कन, समावेश नभएकाले यो अध्ययनले सम्पूर्ण युरोपलाई प्रतिनिधित्व नगर्ने स्पष्ट पारेका छन् । सह–लेखक ग्यारिफलोस कोन्स्टान्टिनोउडिसका शब्दमा, “२–४ डिग्री तापमान बढ्दा हजारौँ मानिसको जीवन र मृत्युबीचको फरक पर्न सक्छ, त्यसैले तातो लहरलाई मौन हत्यारा भनिन्छ ।”यो वर्ष युरोपको रेकर्डमा चौथो सबैभन्दा तातो गर्मी भएको छ ।