Logo

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’, मानिससँगको सामीप्यतामा रमाउँदै

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’, मानिससँगको सामीप्यतामा रमाउँदै



काठमाडौँ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ । यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन् ।

सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू (बच्चाहरू) हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ । प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आएका छन् ।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो । उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए । प्रसाईंले भने, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ ।”

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उनले बताए। “आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन । घाइतेजस्तो पनि देखिएको थिएन । हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो । त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ । अनि उपचार र पालन–पोषण गरिएको हो, ” उनले भने।

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए । बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो । बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ ।

केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताए। “यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्”, उनले भने, “यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।”

गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ ।

यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ । यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छो ।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्