Logo

आठ वर्षपछि पुनः लोडसेडिङतर्फ नेपाल : सर्वसाधारणमा त्रास, के भन्छ नेपाल विद्युत प्राधिकरण ?

आठ वर्षपछि पुनः लोडसेडिङतर्फ नेपाल : सर्वसाधारणमा त्रास, के भन्छ नेपाल विद्युत प्राधिकरण ?



काठमाडौं । नेपाल लोडसेडिङमुक्त भएको आठ वर्षपछि पुनः लोडसेडिङतर्फ उन्मुख भएको छ । विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपाल लोडसेडिङमुक्त घोषणा गरेका थिए । तत्पश्चात नेपालमा पहिलोपटक आइतबारदेखि लोडसेडिङ तालिका सार्वजनिक भएको छ ।

चितवनको चनौली वितरण केन्द्रअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा साउन १२ देखि दिनमा ६ घण्टा लोडसेडिङ सुरु भएको तालिका सार्वजनिक भएको छ । आइतबारदेखि चितवनमा लोडसेडिङ हुने भन्दै तालिका सार्वजनिक भएपछि विगतमा १८ घण्टासम्मको लोडसेडिङ खेपेका सर्वसाधारणमा त्रास उत्पन्न भएको छ ।

नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा प्राधिकरणले सामना गरिरहेको व्यवस्थापकीय कमजोरी र प्राविधिक समस्याहरूका कारण यो अवस्था आएको भन्दै सर्वसाधारण र विज्ञहरूले कडा आलोचना गरेका छन् । कुलमानको कार्यकाल (वि.सं. २०७३–२०७७) मा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाएर लोडसेडिङ अन्त्य भएको थियो, तर शाक्यको कार्यकाल सुरु भएको केहि महिनामै विद्युत् आपूर्तिको कमी, आर्थिक घाटा र प्राविधिक अव्यवस्था बढ्दै गएको देखिएको छ ।

चनौली वितरण केन्द्रले साउन १२ (आजै)देखि लागू हुने लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र सिँचाइको माग बढ्दा विद्युत् खपत ह्वात्तै बढेको छ । भरतपुरको १३२÷३३ केभी सब स्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टर तारको क्षमता ३०० एम्पिएर मात्रै छ, तर हाल ४५० एम्पिएरसम्म लोड पुगेको प्राधिकरणले जनाएको छ । अर्थात प्राधिकरणले पहिल्यैदेखि संचालित प्रणालीलाई कमजोर देखाउँदै एकैदिन करिव ६ घण्टा विजुली नदिने निर्णय लिएको देखिन्छ । प्राधिरणले जारी गरेको नयाँ तालिका अनुसार, नारायणी–माडी फिडरमा बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः००, मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः००, तथा जगतपुर–रामपुर फिडरमा दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० सम्म लोडसेडिङ हुने भएको छ ।

प्राधिकरणले भने यो समस्या अस्थायी भएको बताएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले बिजखबरसँगको कुरा गर्दै यो समस्या अस्थायी भएको दाबी गरे । ‘हामीले साउन १४ सम्म वैकल्पिक व्यवस्थापनमार्फत यो समस्या समाधान गर्ने योजना बनाएका छौं, उनले भने, ‘हर्दीमा २४ मेगावाटको स्टेशन साउन १३ सम्म सञ्चालनमा आउँछ, जसले चितवनको लोड कम गर्नेछ ।’ उनले बसेनी सब स्टेशनबाट नयाँ ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको र देवनगर सब स्टेशनमार्फत जगतपुरमा लाइन आपूर्ति गरी चनौलीको लोड व्यवस्थापन गरिने बताए । तर, यी प्रयासहरूले तत्काल राहत दिन नसकेको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन् ।

हाल प्रणालीमा ६४ हजार ८ सय ६० मेगावाट आवरको पिक डिमाण्ड छ । त्यसमा हाल नेपाल विद्युत प्राधिकरण मातहतका, निजी क्षेत्रका उर्जा प्रवद्र्धक, विद्युत प्राधिकरणका सहायक कम्पनी र आयातित बिजुली गरी त्यो माग धान्न नसकिरहेको अवस्था छ । त्यसमाथि प्राधिकरणले केहि हदसम्म बिजुली निर्यातपनि गरिरहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । नेपालका धेरैजसो जलविद्युत आयोजनाहरु रन अफ रिभर अर्थात नदी प्रवाही आयोजना भएकाले यस्ता आयोजनामा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र घट्दा उत्पादन पनि घट्ने हुन्छ । असार साउन महिना नेपालका धेरैजसो जलविद्युत आयोजनाबाट बढीभन्दा बढी बिजुली उत्पादन हुने भएपनि यहि समयमा प्राधिकरणले भने लोडसेडिङको तालिका सार्वजनिक गरेको देखिन्छ ।

कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले प्रभावकारी व्यवस्थापनमार्फत विद्युत् आपूर्तिलाई नियमित बनाएको थियो । लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने अवस्था थिएन, र प्राधिकरण आर्थिक नाफामा समेत गएको थियो । तर, शाक्यको नेतृत्व सुरु नहुँदै प्राधिकरण घाटामा गएको, विद्युत् उत्पादन र वितरणमा समस्या देखिएको, र व्यवस्थापकीय अराजकता बढेको भन्दै आलोचना भइरहेको छ । चितवनका स्थानीय बासिन्दाले लोडसेडिङको मारले दैनिक जीवनमा कठिनाइ भएको गुनासो गरेका छन । प्राधिकरणको नेतृत्वमा दीर्घकालीन योजना र प्रभावकारी समन्वयको अभाव भएको औंल्याएका छन् । पूर्वी चितवनको टाँडी, पर्सा, र भण्डारासम्म फैलिएको विद्युत् समस्यालाई समाधान गर्न हर्दी स्टेशन र नयाँ प्रसारण लाइनको काम तीव्र गतिमा भइरहेको प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्