काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने भएको छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएका लघुवित्तले अधिकतम १५ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्न पाउने छन्।
१५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएका लघुवित्त वित्तीय संस्थाले भने कुनै पनि प्रकारको लाभांश वितरण गर्न पाउने छैनन्। साथै, पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गर्नुपर्ने शर्त पनि तोकिएको छ, जसले गर्दा नगद लाभांशको प्रस्ताव गर्न सकिनेछ।
यद्यपि, तोकिएको चुक्ता पूँजी पुर्याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन पाउने छैनन् तर बोनस सेयर वितरण गर्न सक्नेछन्।
यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश दिन चाहेमा प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो। सो व्यवस्थाकै कारण लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सकेका थिएनन्।