काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले ८ अर्ब ४१ करोड ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा ७२.६९ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ४ अर्ब ८७ करोड २४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुका लागि केही सहज नीति लिएसँगै नाफामा आकर्षक वृद्धि भएको हो । विशेषत केन्द्रीय बैंक कर्जा पुनर्संरचनाको व्यवस्थामा लचिलो बनिदिंदा लघुवित्तहरुको नाफा बढेको हो ।
कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपात घट्न पुगेर ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको नाफा २८.४३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९४ करोड ४४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रोमा साना किसान लघुवित्त रहेको छ । यसले ८७ करोड ८७ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, निर्धनउत्थान लघुवित्तले ८३ करोड ६० लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा ५ लघुवित्तको नाफा घटेको छ भने ३७ लघुवित्तको नाफा बढेको छ । ३ लघुवित्त कम्पनीहरु भने नोक्सानमा रहेका छन् ।
प्रतिसेयर आम्दानीमा समाज लघुवित्त र नेटवर्थमा आत्मनिर्भर लघुवित्त अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी समाज लघुवित्तको रहेको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ १० पैसा छ । दोस्रोमा आत्मनिर्भर लघुवित्त रहेको छ । यसको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ०७ पैसा छ । यसअवधिमा तीन लघुवित्त बाहेक अरु सबैको प्रतिसेयर आम्दानी धनात्मक छ । प्रतिसेयर आम्दानी ऋणात्मक हुनेमा एनआइसी एसिया, मातृभूमि र नेष्डो सम्बृद्धि लघुवित्त कम्पनी रहेका छन् ।
यता, प्रतिसेयर नेटवर्थमा आत्मनिर्भर लघुवित्त रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ३८४ रुपैयाँ ८२ पैसा छ । त्यस्तै, ग्रामिण विकास लघुवित्तको प्रतिसेयर नेटवर्थ २९३ रुपैयाँ ३५ पैसा छ । त्यस्तै, समाज, जीवन विकास, सीबाइसी, सिर्जनशील, ग्लोबल आइएमई, छिमेक, डिप्रोक्स, उपकार, निर्धनउत्थान, महुली, स्वाबलम्वन, युनिक नेपाल, सानाकिसान र नेरुडे लघुवित्तको प्रतिसेयर नेटवर्थ २ सय रुपैयाँभन्दा धेरै छ ।
