काठमाडौं । संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको स्टिल निर्यात गत वर्षको तुलनामा जुलाई महिनामा २६ प्रतिशतले घटेको छ । यसको प्रमुख कारण वासिङ्टनले तोकेको दोब्बर भन्सार शुल्क भएको बताइएको छ ।
कोरियाको स्टिल ढुवानी गत महिनामा अमेरिकामा २८ करोड ३० लाख डलरमा झरेको कोरियाली समाचार एजेन्सी (योन्हाप) ले कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसन (केआइटिए– किटा) को तथ्याङ्क उद्धृत गर्दै जनाएको छ ।
यो मूल्य मार्च २०२१ पछि करिब चार वर्ष चार महिनामै सबैभन्दा न्यून स्तर हो ।
मात्रा अनुसार, जुलाई महिनामा निर्यात २४ प्रतिशतले घटेर एक लाख ९४ हजार टनमा झरेको छ । यो सन् २०२३ जनवरीपछि सबैभन्दा कम रहेको किटाले जनाएको छ ।
गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एल्युमिनियम आयातमा लगाइएको कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएका थिए ।
उक्त कडा भन्सार शुल्कको प्रतिक्रियामा, देशका दुई प्रमुख स्टिल उत्पादक कम्पनीहरू पोस्को र ह्युन्डाई स्टिलले अमेरिकामा स्टिल प्लान्टमा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।
मार्च महिनामा, ह्युन्डाई स्टिलले सन् २०२९ सम्म लुइसियानामा पाँच अर्ब ८० करोड डलर लागतमा इलेक्ट्रिक आर्क फर्नेसमा आधारित एकीकृत स्टिल मिल निर्माण गर्ने घोषणा गरेको थियो । जसको उत्पादन सोही वर्ष सुरु हुने बताइएको छ ।
अर्को महिना पोस्कोले पनि यस परियोजनामा सामेल हुने जानकारी दिएको थियो । रासस