Logo

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने



काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए ।

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए ।

गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ । हिजो देशैभरी सक्रिय भएको मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरे ।

‘पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ’, उनले भने ।

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उनले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए । पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो ।

हाल देशभर साधारणतया बदली भई सुदुरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । आज रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ ।

मौसमविद् ढकालले भने, “वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ ।”

प्रतिक्रिया दिनुहोस्