Logo

अर्चुनचौपारी गापाका अध्यक्ष प्रकाश तिवारीले पाए प्रभावशाली लिडर अवार्ड, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान

अर्चुनचौपारी गापाका अध्यक्ष प्रकाश तिवारीले पाए प्रभावशाली लिडर अवार्ड, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान



काठमाडौं । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी प्रभावशाली युवा लिडर अवार्डबाट सम्मानित भएका छन् । स्याङ्जा कांग्रेस प्रदेश क्षेत्र सभापति समेत रहेका युवा राजनीतिज्ञ तिवारीले ४० वर्ष तलका प्रभावशाली राजनीतिज्ञको अवार्ड पाएका हुन् । राष्ट्रिय युवा दिवशको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहकाबीच अध्यक्ष तिवारीलाई उक्त अवार्डबाट सम्मानित गरेका थिए ।

अनलाईन खबरले विभिन्न क्षेत्रका प्रभावशाली युवाहरुको सम्मान गर्दै आएकोमा यसअघिको पहिलो संस्करणमा यस्तो अवार्ड काठमाडौंका मेयर बालेन साहले पाएका थिए । अनलाईनले देशभरबाट विभिन्न क्षेत्रमा विभिन्न चरणमा छनौट गरेर दिईने उक्त अवार्ड यसपटक सफल युवा राजनीतिज्ञ तिवारीलाई प्रदान गरिएको हो ।

अर्जुन चौपारीका अध्यक्ष तिवारीले यसअघि देशभरका गाउँपालिकामध्येबाट कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट अध्यक्षको अवार्ड समेत प्राप्त गरेका थिए । ३२ वर्षको उमेरमै पालिका अध्यक्ष बनेका तिवारी नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा कम उमेरका पालिका अध्यक्ष समेत हुन् ।

यसपटक अनलाईनले विभिन्न क्षेत्रमा गरी ४० वटा विधामा युवाहरुलाई सम्मान गरेको थियो । जसमध्ये अध्यक्ष तिवारीलाई राजनीतिक क्षेत्रबाट सम्मानित गरेको हो । उनलाई स्पष्ट भिजन, स्थानीय विकास, सुशासन र नवप्रवद्र्धनको क्षेत्रमा पुर्याएको अर्थपूर्ण योगदानको आधारमा उक्त सम्मान प्रदान गरिएको जानकारी दिइएको छ ।

अध्यक्ष तिवारी अर्जुन चौपारीको अध्यक्ष भएसँगै स्थानीय सेवा प्रबाह, विकास निर्माण, शिक्षा, स्वास्थ्यमा उल्लेखनीय सुधार गरेका थिए । उनले नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गरी सो गाउँपालिककालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकसित गरेका छन् । व्यवस्थापनमा एमबीए गरेका तिवारी वित्त क्षेत्रमा सफल लगानीकर्ता र उद्यमीका पहिचान बनाईसकेका छन् ।
उक्त अवार्ड पाएसँगै अध्यक्ष तिवारी अबका दिनमा राजनीतिक क्षेत्रमा लागेर देश र जनताको सेवामा अझ बढी अब सक्रिय भएर लाग्ने बताए । ‘हाम्रो देशको मुल दक्षता र प्रतिस्प्रर्धात्मक अग्रता पहिचान गरी व्यवस्था परिवर्तन मात्रै होइन, देश र जनताको अवस्था परिवर्तनको लागि निर्णायक क्रान्तिमा लाग्नू जरुरी छ,’ उनले भने ।

अनलाईन खबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले सो कार्यक्रममा बोल्दै देशमा यस्ता पात्र अरु थुप्रै छन् जसले नेपालमा केही भएको छैन र केही हुनेवाला छैन भन्ने भाश्यलाई चुनौती दिँदै आफ्नो क्षेत्रबाट विशेष योगदान दिएको भन्दै तिवारीलाई उक्त अवार्डबाट सम्मानित गरिएको जानकारी दिएका छन् । साथै उनले सो अवार्ड त्यसैको प्रतिविम्व भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्