Logo

‘जस्तापाता’को निर्यातमा पनि ‘खानेतेल’कै नियति, नेपालको निर्यातमै गम्भीर संकटको खतरा

‘जस्तापाता’को निर्यातमा पनि ‘खानेतेल’कै नियति, नेपालको निर्यातमै गम्भीर संकटको खतरा



काठमाडौं । पछिल्लो समय नेपालको निर्यातको ग्राफ उकालो लागिरहेको तथ्यांक सार्वजनिक हुँदा नेपालको निर्यात प्रवृत्तिप्रति पनि उत्तिकै चिन्ता बढेका छन् । हाल नेपालबाट मुख्य निर्यात हुने वस्तुको सूचीमा रहेका वस्तुहरु देशको मौलिक उत्पादन नभएकाले जुनसुकै बेला नेपालको निर्यात धर्मराउने खतरा देखिन्छ । नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको खानेतेलमा भारतको निर्भरताको प्रभाव देखिन थाल्दा अर्को धेरै निर्यात हुने वस्तु जस्तापातामा पनि खानेतेलकै नियति दोहोरिन सक्ने देखिएको छ ।

छोटो अवधिको फाईदा लिँदै नेपाली व्यापारीहरुले न्यून भ्यालु एड गरी भारत निर्यात गरिरहेको खानेतेलजस्तै निर्यात जस्तापाताको निर्यातमा पनि देखिएको हो । अघिल्ला बर्षहरुको तथ्यांकलाई आधार मान्दै गत आर्थिक बर्षको तथ्यांक केलाउँदा नेपालले धेरै निर्यात गर्ने मुख्य १० वस्तुभित्र पछिल्ला ३ वर्षदेखि जस्तापाता समेटिँदै आएको छ ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालकै अर्थात पूर्ण स्वदेशी उत्पादनको सट्टा पछिल्लो समय कच्चा पदार्थ आयात गरी त्यसैलाई न्यून भ्यालु एड राखेर प्रशोधित भनी विदेश निर्यात गर्ने प्रचलन बढिरहेको छ । निर्यात तथ्यांकमा पहिलो स्थानमा खानेतेल हुँदा दोस्रो स्थानमै जस्तापाताको नाम देखिन्छ । विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा नेपालले १४ अर्ब रुपैयाँ बढीका जस्तापातालगायत फलामजन्य वस्तुहरु निर्यात गरेको देखिएको छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा भने कम हो । अघिल्लो आवमा नेपालले यस्तो वस्तु १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

खासगरी नेपाली व्यापारीले विदेशबाट रोल्ड आइरन ल्याएर त्यसलाई प्रशोधन गरी जस्ता बनाई विदेश निर्यात गर्दै आएका छन् । जसअनुसार गत आर्थिक वर्षमात्रै नेपालले ६ सय एमएमको जस्ता ५ अर्ब बढी निर्यात गर्दा ३ अर्ब ५५ करोड रुपैयाँको थप यस्तै जस्तापाता निर्यात गरेको देखिन्छ । नेपालले यसरी निर्यात गर्ने जस्तापातामध्ये ९० प्रतिशत जस्तापाता भारतको बिहार राज्यमा जाने एक उद्योगीले बताए । ‘धेरैजसो जस्तापाताहरु बिहार राज्यमै खपत भइरहेको छ,’ उनले भने, ‘हामीले साफ्टा सुविधा प्रयोग गर्दै विदेश निर्यात गरिरहेको यो वस्तु गत आवमा भने घटेको छ ।

नेपालबाट खासगरी गलैँचा, अलैँची, चिया, धागो, छुर्पीलगायतका वस्तुहरु विदेश निर्यात हुँदै आएका छन् । नेपालले विदेश निर्यात गर्ने मूख्य वस्तुहरु पनि यिनै हुन् । तर, पछिल्ला केहि बर्षदेखि प्रशोधित खानेतेल, जस्तालगायतका प्रशोधन गरिएका वस्तुहरुको निर्यातको उकालो ग्राफले विश्लेषकहरुलाई भने झस्काइरहेको छ । एकै प्रकृतिको एकै वस्तु एकै देशमा लगातार निर्यात हुनुलाई निर्यात बढेको मान्न नसकिने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्यांक विश्लेषक कृष्णराज बजगाईँ बताउँछन् । ‘पछिल्लो समय जस्तापाता र खानेतेलको बढ्दो व्यापार खहरे व्यापार मात्रै हो,’ उनले भने, ‘जुन देश या स्थानमा यी वस्तुहरु निर्यात भईरहेका छन्, त्यो देशले सानो नीति परिवर्तत गरिदिएमात्रै पनि नेपालको कुल निर्यात आँकडामै ठुलो असर पर्छ ।’

अघिल्ला बर्षहरुदेखि बढ्न थालेको नेपालको जस्तापाताको निर्यात गत आर्थिक बर्ष भने घटेको तथ्यांकमा देखिन्छ । तर, भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेपछि गत आवमा नेपालबाट हुने जस्तापाताको निर्यातमा उल्लेख्य गिरावट आएको देख्न सकिन्छ । भारत सरकारले २८ फेवु्रअरी २०२५मा राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी (भारतीय) तथा विदेशबाट आयात हुने सामग्रीमा ‘बीआइएस’ अनिवार्य गरेको थियो ।

भारतले ‘बीआइएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट निर्यात हुने सिमेन्ट, जुत्ता, प्लाईउड, जस्तापातालगायतको निर्यात नै करिव ६ महिना रोकिएको थियो । अब भने पुनः यसको निर्यात सुचारु भएको एक उद्योगीले जानकारी दिए । विभागको तथ्यांकलाई केलाउँदा अघिल्लो आव २०८०/८१ मा नेपालले आलमुनियम कोट गरिएको ६ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ बराबरको ५ करोड ४५ लाख किलो जस्तापाताको निर्यात गरेको हो । यो त्यसअघिको आवको तुलनामा २ अर्बले बढी हो । तर, गत आवमा भने यस्तो जस्तापाताको निर्यातमा गिरावट आएको देखिन्छ । नेपालले यस्तो वस्तुको आयात हेर्ने हो भनेपनि गत आर्थिक बर्षभर १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको फलाम र स्टिल आयात गरेको देखिन्छ । यहि परिमाणबाट प्रशोधन गरिएको केहि अंश नेपालका व्यापारीहरुले भारत निर्यात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्